बेइजिङ, (एजेन्सी)-उत्तर कोरियाको बस दुर्घटनामा हताहत भएका ३४ चिनियाँमा सैन्य सेवामा रहेका पूर्वचिनियाँ नेता माओत्सेतुङका एक सन्तान पनि परेको हुनसक्ने जनाइएको छ।
न्यु ताङ डायनास्टी टेलिभिजन र चिनियाँ भाषाको रेडियो फ्रान्स इन्टरनेसनले दिएको समाचारमा चिनियाँ सरकारले गत अप्रिलको उक्त दुर्घटनामा मारिएका २६ जना चिनियाँ नागरिकको पहिचान मात्र सार्वजनिक गरिएको उल्लेख गरेका छन्।
उत्तर कोरियाको भ्रमणका क्रममा दुर्घटनामा मृत्यु भएका अन्य ८ जना चिनियाँ नागरिकको नाम भने बेइजिङले सार्वजनिक नगरेको दक्षिण कोरियाली समाचार सेवा न्युसिसले जनाएको छ। ती आठ जनामा माओका ४८ वर्षीय नाति माओ सिन्यु भएको चिनियाँ भाषाका सञ्चार माध्यमहरूले जनाएका छन्।
माओ सिन्युलाई चीनको सबैभन्दा कम उमेरमा सन् २००९ मा जनरल पदमा बढुवा गरिएको ताइवान न्युजले जनाएको थियो। तर उनको उपस्थिति, भाषण तथा लेखनलाई लिएर चिनियाँ सामाजिक सन्जालमा ठट्टामा उडाउने काम हुने गरेको उक्त समाचार एजेन्सीले जनाएको थियो।
उनी माओत्सेतुङका अन्तिम जीवित छोरा माओ एन्क्विङका एक मात्र छोरा थिए। माओ एन्क्विङको सन् २००७ मा निधन भएको थियो।
उक्त चार्टर बसमा यात्रा गरिरहेका चिनियाँ यात्रुहरू प्रायः सन् १९५०–५३ कोरियाली युद्धमा लडेका योद्धाका सन्तानहरू भएको बताइएको छ। नेपाल समाचारपत्रले खबर छापेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया