नारायणगढ–मुग्लिन सडक विस्तार कार्य १ महिनाभित्र सकिँदै

नारायणगढ–मुग्लिन सडक खण्ड विस्तार कार्य लगभग सम्पन्न भएकाे छ । विस्तारको काम अन्तिम चरणमा पुगेसँगै अबको १ महिनाभित्र कतै नरोकिर्इ नियमित यात्रा गर्न सकिनेछ ।

सडक विस्तार अायोजनाका अनुसार आगामी जेठ १७ गतेदेखि चौबिसै घण्टा दुर्इतर्फी सवारी अावागमन गर्न पार्इनेछ । 

यो सडक खण्डमा अहिले विहान १० देखि ४ बजेसम्म सवारीसाधन बन्द गरेर कालोपत्रे गरिंदै आएको छ । आयोजनाको तेस्रो पटक थपिएको म्याद जेठ १६ गते सकिंदै छ । म्यादभित्रै सडक विस्तार गर्न आयोजनाले तीनवटा निर्माण कम्पनीमार्फत काम गराइरहेको छ । आयोजनाका अनुसार उक्त सडक खण्डमा अब १० प्रतिशत काम बाँकी छ । आयोजनाका इन्जिनियर शिव खनालले अब ३ किलोमिटर सडकखण्ड मात्र कालोपत्रे गर्न बाँकी रहेको जानकारी दिए ।

सडक खण्डको ३३.२ किमिमध्ये ३० किलोमिटर सडकमा पहिलो तहको, २८ किलोमिटरमा दोश्रो तहको र ८ किलोमिटरमा तेश्रो तहको कालोपत्रे गरिएको छ । तीनै तहको कालोपत्रे बैशाखको अन्तिमसम्ममा सक्ने आयोजनाले बताएको छ । विस्तारको काम सकिएपछि सडक खण्ड ३५ मिनेटमा नै पार गर्न सकिने आयोजनाको दाबी छ ।

दैनिक ८ हजारभन्दा बढी सवारीसाधन ओहोरदोहोर हुने यो सडक खण्ड पार गर्न अहिले ७० मिनेट लाग्ने गरेको छ । सडक ९ मिटर चौडा पारिएका कारण ओहोरदोहोर चाँडो गर्न सकिने आयोजनाले जनाएको छ । सडक विस्तारमा ३ अर्ब २० अर्ब रुपैयाँ खर्च हुने भएको छ । यो रकम अनुमानितभन्दा ३२ करोड रुपैयाँ बढी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?