जुम्लाको चन्दननाथ मन्दिरमा भारतको देहरादूनबाट दत्तात्रेयको मूर्ति ल्याएर पुनःस्थापन गरिएको छ ।
विसं २०७३ मंसिर ११ गते राति कर्णालीको धार्मिकस्थल चन्दननाथ मन्दिरबाट १८ केजीको दत्तात्रेयको मूर्तिसहित २१ थान अन्य मूर्ति चोरी भएका थिए । चोरी भएकामध्ये अन्य मूर्ति देपालगाउँ गाविस, देपालगाउँ नजिकैको खोलामा २०७३ पुस १९ गते बेबारिसे रुपमा फालिएको अवस्थामा भेटिएका थिए ।
चोरी भएकामध्ये सबैभन्दा ठूलो दत्तात्रेयको मूर्ति हालसम्म कतै नपाइएपछि देहरादूनबाट ल्याएर चन्दननाथ मन्दिरमा पुनःस्थापना गरिएको चन्दननाथ भैरवनाथ गुठी संस्थानका सचिव रमानन्द आचार्यले बताए । सत्ताइस मूर्तिमध्ये दत्तात्रेयसहित छ मूर्ति पाइएका थिएनन् ।
मूर्ति हराएको डेढ वर्षसम्म मन्दिर खाली भएको र त्यसका विषयमा कोही कसैले चासो नदेखाएपछि देहरादूनबाट बाबा भवानी गिरीले आफ्नै लगानीमा दुई पण्डितसहित पित्तलबाट निर्मित दत्तात्रेयको मूर्ति जुम्ला पु¥याउनुभएका हुन् । उक्त मूर्ति विधिवत् रुपमा मन्दिरमा पुनःस्थापना गरिएको सचिव आचार्यले बताए ।
यही वैशाख १३ गते बिहान ९ः४५ बजेदेखि मन्दिरभित्र २७ घण्टे अखण्ड हवनसमेत चलाइएको थियो । दत्तात्रेयको मूर्ति व्यक्तिगत रुपमा ल्याएर प्रतिस्थापन गर्दा समेत सरकारी क्षेत्रको कुनै चासो नभएको धार्मिक सरोकार भएकाको गुनासो छ ।
हराएका बहुमूल्य मूर्तिको अनुसन्धान गरी पत्ता लगाउन नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले प्रत्यक्ष जिम्मा लिई स्थलगत अनुसन्धान थालेको थियो । बहुमूल्य चाँदीले बनेको र सुनको गजुर भएको मूर्ति पत्ता लगाउन ढिलाइ भएको नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले जानकारी दिए। पन्धौँ शताब्दीमा सिद्ध चन्दननाथ बाबाले कालीमार्सी धान रोप्ने क्रममा चन्दननाथको पूजा आरम्भ गरेदेखि निरन्तर पूजा भइरहेको धार्मिक व्यक्तित्वको भनाइ छ ।
चन्दननाथ बाबाले जुम्ला राज्यका संस्थापक कल्यालवंशी राजा बलिराज शाहीको राजतिलक लगाएको समेत ऐतिहासिक प्रमाणमा रहेको जानकार बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया