काठमाडौं, ६ बैशाख- पार्टीभित्र कमजोर देखिन थालेपछि शेरबहादुर देउवा पार्टीका प्रमुख तीन पदाधिकारी मनोनयन गर्नतर्फ लागेका छन् । कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित भएको दुई महिनाभित्र सभापतिले एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनीत गर्नुपर्ने व्यवस्था छ तर १३ औं महाधिवेशनबाट बलियो मतका आधारमा सभापति चुनिएका देउवाले दुई वर्ष बित्दासमेत मनोनयन गरेका छैनन् । मनोनयनलाई लिएर महाधिवेशनताका उनकै गुटमा रहेका नेतासमेत उनीविरुद्ध लागेपछि देउवाले पदाधिकारी मनोनयन गरी पार्टीभित्र आफ्नो पक्कड कायम राख्न खोजेको देखिएको छ । मनोनीतमा पर्न देउवा खेमा बाहिरका नेताहरूको समेत दौडधुप बाक्लिएको छ । यद्यपि, देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा प्रकाशशरण महत वा मानबहादुर विश्वकर्मालाई मनोनीत गर्ने सम्भावना रहेको निकटस्त स्रोत बताउँछ । निर्वाचनपश्चात् सभापति देउवाविरुद्ध कांग्रेसका अन्य सबै गुट उत्रिएपछि उनी कमजोर देखिन थालेका हुन् । केही महिनायता भइरहेका भ्रातृ संगठनका प्रतिस्पर्धामा देउवा खेमाका उम्मेदवार पराजित गर्दै पौडेल र सिटौला समूहका नेताले बाजी मार्नुले त्यही संकेत गर्छ । १३औँ महाधिवेशनमा पार्टीभित्र प्रस्ट बहुमत ल्याएका देउवाले केही प्रमुख भ्रातृसंगठनमा आफ्नो पक्षकालाई नियुक्त गरेका थिए, अन्नपूर्ण पोस्टमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया