प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति प्रचण्डको प्रश्न

काठमाडौँ, ५ बैशाख-मंगलबारको एकता संयोजन समितिको बैठकमा प्रधानमन्त्री ओलीको एकलौटी निर्णयप्रति प्रचण्डले असन्तुष्टि पोखेका छन् । एकतापछि दुवै अध्यक्ष भनिए पनि ओलीले ‘सेरेमोनियल’ बनाउन सक्नेप्रति प्रचण्डले आशंका गरेका थिए । माओवादी मन्त्रीसँग सल्लाह नै नगरी ओलीले २३ चैतमा ३० जना सचिव सरुवा गरेका थिए । तुरुन्तै माओवादी मन्त्रीहरूले अध्यक्ष प्रचण्डलाई गुनासो गरेका थिए । त्यसपछि ओली र प्रचण्डको भेट भएको थिएन । मंगलबारको बैठकमा प्रचण्डले यी कुरा उठाएको एक नेताले बताए, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।असहमतिका विषयमा एकता संयोजन समितिको अर्को बैठकले निर्णय गर्ने माओवादी नेता नारायणकाजी श्रेष्ठले बताए । तर, एकता संयोजन समितिको अर्को बैठक कहिले बस्ने भन्नेमै अन्योल छ । एमाले महासचिव ईश्वर पोखरेलले कुनै पनि विषयमा विवाद नदेखिएको बताए । उनले सहमति गर्नुपर्ने विषयमा दुवै अध्यक्षले फाइनल टच गरेपछि एकता हुने बताए ।पूर्वनिर्धारित ९ वैशाखमा एमाले–माओवादी एकता घोषणा नहुने भएको छ । मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकले विवादित विषयमा कुनै प्रगति गर्न नसकेपछि एकता प्रक्रिया लम्बिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?