अफगानिस्तान: संयुक्त राष्ट्रसङ्घ भन्छ-‘तालिबानले प्रदर्शनकारीमाथि दमन गर्दा चार जनाको मृत्यु’

लोकपथ
126
Shares

काठमाडौं । अफगानिस्तानमा तालिबानले उसको विरोध गर्दै प्रदर्शनमा भेला भएका मानिसमाथि हिंसात्मक बल प्रयोग गरेर दमन गरेको भन्दै संयुक्त राष्ट्रसङ्घले भर्त्सना गरेको छ। राष्ट्रसङ्घका अनुसार तालिबानको दमनमा पछिल्ला प्रदर्शनहरूमा चार जनाको मृत्यु भइसकेको छ।

झन्डै एक महिनाअघि राजधानी काबुल तालिबानको नियन्त्रणमा पुगेपछि अफगानिस्तानका विभिन्न स्थानमा महिला अधिकार र स्वतन्त्रताका पक्षमा प्रदर्शनहरू भइरहेका छन्। प्रदर्शनकारीमाथि तालिबान लडाकुले लाठी र कोर्रा प्रहार गर्नुका साथै गोली पनि चलाएको राष्ट्रसङ्घको प्रतिवेदनमा उल्लेख छ।

“शान्तिपूर्ण भेला हुन पाउने अधिकार प्रयोग गरिरहेका मानिसहरू र आन्दोलनको समाचार सङ्कलन गरिरहेका पत्रकारमाथि बल प्रयोग र स्वेच्छाचारी रूपमा नियन्त्रणमा लिने काम तत्कालै रोक्न तालिबानलाई हाम्रो आग्रह छ,” राष्ट्रसङ्घीय मानवाधिकार उच्चायुक्तका प्रवक्ताले एउटा वक्तव्यमा भनेकी छन्।

गत अगस्टमा तालिबानले प्रादेशिक केन्द्रहरूमा नियन्त्रण कायम गर्न सुरु गरेको थियो। दुई हप्ताको अवधिमा तालिबान लडाकुहरूले राजधानी काबुललाई पनि कब्जा गरे।

अगस्ट अन्त्यमा आफ्ना सैनिकहरू अफगानिस्तानबाट बाहिरिनुअघि अमेरिकी नेतृत्वको सेनाले एक लाख २० हजार मानिसलाई काबुल विमानस्थलबाट उद्धार गरेको जनाएको छ।

दुई दशकअघि न्यूयोर्कको ट्विन टावरमा भएको ९/११ आक्रमणपछि अमेरिकी गठबन्धन सेनाले तालिबानलाई अफगानिस्तानबाट सत्ताच्युत गर्न कारबाही थालेको थियो। अहिले तालिबान पुनः शासनमा फर्किएको छ।

शान्तिपूर्ण विरोधको हिंसात्मक प्रतिक्रिया
राष्ट्रसङ्घकी प्रवक्ता रविना शामदासानीले शुक्रवार भएको एक पत्रकार सम्मेलनमा तालिबानले बल प्रयोग गरेकोमा आलोचना गरेकी छन्।

उनका अनुसार गत अगस्ट १५ पछि प्रदर्शनहरू बढ्दै गएका थिए तर तालिबानले बुधवारबाट अनधिकृत भेलाहरूमा प्रतिबन्ध लगाएको छ भने बिहीवारबाट मोबाइल इन्टरनेट बन्द गर्न दूरसञ्चार कम्पनीहरूलाई आदेश दिएको छ।

“यो अत्यन्तै अनिश्चयको समयमा” तालिबानले सडकमा भेला भएका महिला र पुरुषहरूको आवाज सुन्न आवश्यक भएको उनको भनाइ छ।

राष्ट्रसङ्घको विज्ञप्तिमा विगत केही साता विरोधप्रदर्शन दमन गर्न भएका हिंसात्मक बल प्रयोगमा एक बालकसहित चार जनाको मृत्यु भएको उल्लेख छ।

राष्ट्रसङ्घले पत्रकारहरूमाथि भएको हिंसाको पनि आलोचना गरेको छ। यसै साता प्रदर्शनको समाचार सङ्कलनमा क्रममा तालिबानले आफूहरूलाई नियन्त्रणमा लिएर पिट्नुका साथै कोर्रा लगाएको पत्रकारहरूले बीबीसीलाई बताएका थिए।

तालिबानको नियन्त्रणपछि अफगानिस्तानबारे सर्वत्र चासो बढिरहेका बेला राष्ट्रसङ्घको यस्तो प्रतिवेदन आएको हो।

के छ अफगानिस्तानको स्थिति
गत शुक्रवार विश्व खाद्य सङ्गठनले अफगानिस्तानमा ९३ प्रतिशत घरधुरीले पर्याप्त खाना नपाएको बताएको थियो।

खडेरीले आपूर्ति व्यवस्था नराम्ररी प्रभावित हुँदा गहुँबालीमा ४० प्रतिशत सम्म नोक्सानी भएको बताइएको छ।

वाल स्ट्रीट जर्नलले सहायता क्षेत्रमा कार्यरत मानिसहरूलाई उद्धृत गर्दै त्यहाँको ठूलो जनसङ्ख्या केही महिनाभित्रै गरिब बन्न सक्ने खतरा औँल्याएको छ।

राष्ट्रसङ्घकै अर्को संस्था यूनेस्कोले दुई दशकयता बालशिक्षा र विशेषगरी बालिकाहरूको लागि शिक्षामा राम्रो प्रगति गरेको अफगानिस्तानको शैक्षिक क्षेत्रमा “पिँढीगत विनाश” हुन सक्ने चिन्ता व्यक्त गरेको छ।

यसै साता नयाँ सरकार घोषणा गरेको तालिबानले शनिवार नयाँ सरकारका पदाधिकारीलाई पदबाहल गर्न लागेको अपुष्ट समाचारहरू आएका छन्।

शनिवार अमेरिकामा ९/११ आक्रमणको २०औँ वार्षिकी आयोजना गरिँदैछ।

ओसामा बिन लादेन नेतृत्वको अल-कायदाको योजनामा भएको उक्त आक्रमणमा झन्डै ३,००० जनाको मृत्यु भएको थियो। बिन लादेन त्यस बेला तालिबानको संरक्षणमा अफगानिस्तानमा बसेका थिए।

कतिपयले तालिबानको उदयले विश्वका अन्य आतङ्कवादी समूहहरूलाई समेत हौसला मिल्न सक्ने टिप्पणी गरिरहेका छन्।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले सेप्टेम्बर ११ मा आफ्नो सेना अफगानिस्तानबाट फिर्ता लैजाने योजना बनाए पनि तालिबानले अफगानिस्तानमा आफ्नो प्रभाव बढाएसँगै अमेरिकाले त्यसअघि नै सेना फिर्ता गरेको थियो।

अमेरिकी सेना फिर्ता भएपछि बिहीवार काबुलबाट पहिलो अन्तर्राष्ट्रिय उडान भएको छ। काबुल पुगेको कतार एअरवेजले अमेरिका, क्यानडा र द नेदरल्यान्ड्सका डच नागरिकहरूलाई दोहा लगेको थियो।

शनिवार पनि कतार एअरवेजले फ्रान्सका ४९ नागरिक सहित १५० जनालाई काबुलबाट दोहा पुर्‍याएको बताइएको छ।

हालै भएका उडानमा अमेरिकाले आफ्ना नागरिक र उसले तेस्रो देशमा बसोबासका लागि सहयोग गरेका अफगानहरू पनि भएको जनाएको छ।

अमेरिकी प्रेस सेक्रेटरी जेन साकीले हालै अमेरिका पुगेका चार अफगानमा दादुराको समस्या देखिएपछि अफगान शरणार्थीहरूलाई अमेरिका उडाउन अस्थायी रूपमा बन्द गरिएको बताएकी छन्। बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?