सत्ता गठबन्धन दलकै भ्रातृ संगठनद्वारा गृहमन्त्रीको पुत्ला दहन

RSS
105
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला दहन गरेको छ ।

सत्तारुढ गठबन्धनभित्रैको माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी निकट नेपाल स्वतन्त्र विद्यार्थी युनियनले गृहमन्त्री खाँणले वाक स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी भारतको विरोध नर्गन विज्ञप्ति जारी गरेको भन्दै सोमवार खाँणको पुत्ला दहन गरेको हो ।

अनेरास्ववियु विश्वविद्यालय राष्ट्रिय कमिटीहरुको आयोजनामा नेपाल कमर्श क्याम्पस मिनभवनमा गृहमन्त्रीको पुत्ला दहन गर्दै विरोध प्रदर्शन गरिएको हो । प्रदर्शनमा नाराबाजीसहित एमसीसी सम्झौताको पनि चर्को विरोध गरिएको थियो ।

विरोध प्रदर्शनमा बोल्दै अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले हिजो तानाशाहविरुद्ध लडेका गृहमन्त्रीलाई कुन प्रभुले सिकाएर विज्ञप्ति लेख्ने आँट आयो भन्ने प्रश्न गरे । उनले गृहमन्त्री खाँणले भारतलाई रिझाउनका लागि विज्ञप्ति निकालिएको बताए।

प्रधानमन्त्री शेरबहादुर देउवा आफुहरुकै समर्थनमा प्रधानमन्त्री बनेको भए पनि एमसीसी सम्झौता पारित गर्ने पहल गरेको भन्दै उनले एमसीसी सम्झौता स्वीकार्य नहुने स्पष्ट पारे ।

उनले भने, ‘हामी बालकृष्ण खाँणलाई सोध्न चाहान्छौँ, हिजो राजाको विरुद्धमा लड्दै गर्दा हिजो केपी ओलीले तानाशाही कदम चाले, संविधान च्याते, संसद भत्काए भन्ने बालकृष्ण खाँणलाई यो कुनचाही प्रभुले सिकाएर यो विज्ञप्ति लेख्न तपाईलाई आँट आयो ? किन यस्तो भारतलाई रिझाउने र नरेन्द्र मोदीको गुलामी गर्ने विज्ञप्ति निकाल्नु हुँदैछ ? प्रधानमन्त्री देउवा हाम्रै बलमा प्रधानमन्त्री हुनुभएको छ । एमसीसी जस्तो राष्ट्रघाती सम्झौता गर्ने पहल गरिरहनुभएको छ । एमसीसी जस्तो राष्ट्रघाती सम्झौता किमार्थ सम्भव छैन । राष्ट्रघाती सम्झौता स्वीकार्य छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?