काठमाडौं । सरकारले मित्र राष्ट्रको प्रधानमन्त्रीको प्रतिष्ठानाम आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने जस्ता क्रियाकलापहरु गरेको भन्दै आपत्ति जनाएको छ ।
गृहमन्त्रालयले आइतबार (आज) एक विज्ञप्ति जारी गर्दै मित्र राष्ट्रका प्रमुखको प्रतिष्ठामा आँच आएको भन्दै त्यस्तो कार्य नगर्न निर्देशन दिएको छ ।
‘विगत केही दिनयता छिमेकी मित्र राष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधिप्रति गृहमन्त्रालको गम्भीर आपत्ति आपत्ति प्रकट गर्दछ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।
सरकार सबै मित्र राष्ट्रहरुसँग पारस्परिक सम्बन्ध स्थापना गर्न चाहने भन्दै त्यस्ता क्रियाकलाप नगर्न आग्रह गरेको छ ।
‘नेपाल सरकार सबै मित्र राष्ट्रहरुसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहन्छ र नेपाली भूमीमा कुनै पनि राष्ट्र विरुद्धका गतिविधि हुन नदिने विषयमा कटिवद्ध छ । मित्र राष्ट्रहरुसँगको स्वाभिमान र सम्मानमा आँच आउने कुनै क्रियाकलाप नगर्न बसैलाई आग्रह गरिन्छ ।’
दार्चुलाका ३३ वर्षीय युवक जयसिंह धामीलाई भारतीय एसएसबीले तुइन काटेर महाकालीमा बेपत्ता पारेको प्रकरणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउने तथा भारत विरोधी नाराहरु चर्किरहेको छ ।
सोही क्रममा सरकारले मित्र राष्ट्रहरुसँगको समस्या वार्ता, संवाद र कुटनीतिक माध्ययमबाट गरिँदै आएको र गरिने भन्दै त्यस्ता क्रियाकलाप गर्नेहरुलाई कारबाही गर्ने समेत बताएको छ ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘मित्र राष्ट्रहरुसँग उत्पन्न समस्यालाई वार्ता, सम्वाद रकुनटीतिक माध्यमबाट समाधान गरिँदै आएको विदितै छ । भविष्यमा पनि उत्पन्न हुने समस्याहरुलाई वार्ता, संवाद र कुटनीतिक माध्यमबाट समाधानको गरिनेछ । मित्र राष्ट्रविरुद्ध लक्षित हुने गतिविधिलाई नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्न भई कानून हातमा लिनेलाई कारबाही गरिने व्यहोरा जानकारी गराइन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया