किन बढ्दै छन् बलात्कारका घटना ?

काठमाडाैं । नेपालमा दिनानुदिन बलात्कारको घटनाहरू बढिरहेको छ । अचम्मलाग्दो कुरा त के छ भने मानिसहरू शिक्षित र सभ्य भएका रिपोर्ट सार्वजनिक हुँदै गर्दा हत्या, बलात्कार, लुटपाट, अपहरणजस्ता जघन्य अपराध बढ्दै गइरहेका छन् ।

कसैले कुनै महिलालाई निजको मञ्जूरी नलिई करणी गरेमा वा सोह्र वर्षभन्दा कम उमेरकी बालिकालाई निजको मञ्जूरी लिई वा नलिई करणी गरेमा निजले जबर्जस्तीकरणी गरेको ठहर्छ ।

अझ पछिल्ला दिनहरूमा बाहिरिएका रिपोर्टहरूले महिलाहरू आफ्नै दाजुभाइ, बाबु, काका भनिने आफन्तहरूबाट बलात्कृत हुने दर बढेको देखाउँछ । मानसिक स्थिति ठीक नभएका बालिकाहरू समेत आफ्नै आफन्त परिवारबाट बलात्कृत भइरहेका छन्, फितलो कानुन कार्यान्वयनका कारण निकृष्ट घटनाहरू दिनानुदिन बढिरहेका छन् ।

विभिन्न समाचार, पत्रपत्रिकामा वा सामाजिक सञ्जालमा आएका बलात्कारका घटनाले सोच्न बाध्य बनाउँछ कि महिलाहरूको लागि सुरक्षित ठाउँ कहाँ हो ? आफ्नै घरको सदस्यहरूबाट समेत छोरीचेलीहरू असुरक्षित हुनुको कारण के हो ? हरेक पल्ट बलात्कारको घटना बलात्कारीहरू अपराधी हुन् र तिनीहरूलाई कानुनबमोजिम कारबाही हुनुपर्छ । तर अफसोच अपवादबाहेक अपराधीलाई कानुनको कठघरामा ल्याउनु देशको अपराध नियन्त्रण सम्हालिरहेका नेपाल प्रहरीलाई फलामको सरह भएको छ ।

आजको समाजमा एक अबोध बालिकामाथि बलात्कार हुनु भनेको एकदमै लज्जास्पद र घिनलाग्दो विषय हो । योभन्दा लज्जास्पद कुरा त पीडकलाई कानुनको दायरामा ल्याउन नसक्नु हो । कहिलेसम्म नारीहरू बलात्कार भएको सुन्दै र भोग्दै बस्नुपर्ने हो कसैलाई थाहा छैन किनकि नेपालको कानुन त अब सबै सर्वसाधारणले बुझिसकेका छन् । कहिलेसम्म बलात्कारको घटना टुलुटुलु हेरेर बस्ने ?

नेपालमा बलात्कार एक आफैँमा सबैभन्दा कम उजुरी पर्ने अपराधमा पर्दछ । बलात्कारपछि ज्यान बचाए पनि उजुरीपछि ज्यान नजाला भन्न सकिने वातावरण छैन त्यसैले धेरैजसो बलात्कारको घटना प्रहरीसम्म आइनपुग्ने समस्या छ । बलत्कारको घटनाबाट अधिकांश किशोरीहरू पीडित हुनेगरेका छन् ।

किशोरीहरू उजुरी दिन आफैँलाई सुरक्षित मान्दैनन् । आफ्नो परिवार, नातागोता र समाजमा इज्जत जाने डर र बाबुआमाको मान प्रतिष्ठा जोगाउने नाममा उजुरी दिन हिचकिचाउने गरेका छन् । घटनालाई बाहिर ल्याउँदा दोहोरो पीडामा पर्दछन् एउटा बलात्कार अर्को सामाजिक डर र त्रास ।

त्यसमाथि नेपालको कानुन यति फितलो छ कि हिम्मत जुटाएर ज्यानको बाजी राखेर नै उजुरी दिए पनि पीडकले कानुनअनुसारको सजाय पाउनेमा पीडित ढुक्क हुने अवस्था छैन । शक्तिको दुरूपयोग, राजनीतिक संरक्षण, आर्थिक प्रलोभन, नातावाद, कृपावादजस्ता प्रवृत्ति पीडितको न्याय प्राप्तिको तगारो बनेको छ ।

बलात्कार किन हुन्छ ?
बलात्कारका घटना दिनप्रतिदिन बढुनुको मुख्य कारण सामाजिक चेतना, सामाजिक मान्यता, आर्थिक अवस्था, सुरक्षा व्यवस्था, आपराधिक मनस्थिति, पुरुषप्रधान समाज, प्रहरी तथा कानुनी निकायको अक्षमता, सामाजिक सञ्जालको दुरूपयोग, मोबाइल तथा कम्प्युटर तथा इन्टरनेटको दुरूपयोग आदि बलात्कारका प्रमुख कारणहरू हुन् ।

हेर्नुहोस् डाटा (प्रहरीको तथ्यंकमा आधारित) :  

उजुरी प्रक्रिया
महिलाहरू बलात्कारपश्चात् प्रहरी कार्यालय पुगेर किटानी जाहेरी गर्न सहज महसुस गर्दैनन् । कतिपय अवस्थामा प्रहरीहरूले पीडितको बयान विस्वास नगर्ने र उजुरी नै नलिने गरेको समेत सुन्न पाइन्छ । प्रहरी प्रशाासनको उच्च ओहोदामा बस्ने व्यक्तिले बलात्कारबाट पीडित व्यक्तिको पीडा र मनोभाव बुझ्न सक्दैन, त्यही व्यक्तिले न्याय दिने सम्भावना न्यून हुन्छ ।

यौन शिक्षा
मानिसले प्राप्त गर्ने ज्ञानको स्रोत परिवार, विद्यालय र समाज हो । परिवारबाट पाउने शिक्षा र विद्यालयका पाठ्यक्रमबाट पाउने शिक्षाले बालबालिकाले कुन बाटो अँगाल्छन् भन्ने तय गर्दछ । अझै पनि विद्यालय र परिवारमा यौनसम्बन्धी कुराको बारेमा खुलेर कुरा गर्ने संस्कारको विकास नहुनु, विद्यालयमा शिक्षक खुलेर पढाउन लजाउने, यौनका कुुरा गर्दा नराम्रो दृष्टिले हेर्नेजस्ता मनोवृत्तिले गर्दा यौन शिक्षा प्रभावकारी हुन सकेको छैन । आपराधिक क्रियाकलाप हुनुमा मानिसले पाएको यौन शिक्षाको पनि महत्वपूर्ण भूमिका हुन्छ ।
बलात्कारका मुख्य कारणहरू :

  • पुरुष अहमतमा
  • सामाजिक अवहेलना
  • न्यायिक नेतृत्व
  • उजुरी प्रक्रिया
  • शक्तिको दुरूपयोग
  • इन्टरनेट तथा सामाजिक सञ्जाल दुरूपयोग
  • चलचित्र सन्देश
  • समाधानहरू के–के हुन् ?

कडा कानुनको व्यवस्था र प्रभावकारी कार्यान्वयन, निष्पक्ष छानबिन तथा पीडितलाई न्याय, सहज चुस्त दुरुस्त र संरक्षित महिलामैत्री उजुरी प्रक्रिया बनाउन सकेमा अपराध न्यूनीकरण गर्न सकिन्छ । त्यस्तै पीडित र पीडितका परिवारलाई मनोसामाजिक परामर्श दिनु जरुरी हुन्छ । परिवारले पीडितलाई कसरी सम्हाल्ने र आफू कसरी सम्हालिने भनेर बुझ्न सकेमा पीडितलाई परिवार र समाजमा पुनर्स्थापनामा गर्न सकिन्छ ।

अन्त्यमा, हामी मुकदर्शक नबनौँ । बलात्कारविरुद्धको अभियानमा साथ दिऔँ । हिंसामा परेका बालिका तथा महिलाहरूलाई लाञ्छना नलगाऔँ । आलोचना नगरौँ । जीवित पीडित र पीडितका परिवारलाई सहयोग गरौँ । जबसम्म पुरुष बलात्कारविरुद्धको अभियानमा उभिँदैन तबसम्म बलात्कार नियन्त्रण हुन सक्दैन । देशका सम्पूर्ण नागरिकलाई उद्यमशील, व्यस्त, आत्मनिर्भर, स्वस्थ प्रतिस्पर्धातर्फ उन्मुख गराउन सकिएमा बलात्कारजन्य घटनामा कमी आउने निश्चित छ । त्यसैले भएका कानूनको पूर्ण पालना गराउन मुलुकमा बढ्दो यौनजन्य हिंसा कम गर्न घरपरिवार, विद्यालय, स्थानिय तह, नागरीक समाज र राज्य स्तरबाट तत्कालै पहलकदमी लिन जरुरी देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?