काठमाडौं। नेपाली राष्ट्रिय टोलीले आज (बिहीवार) भारतविरुद्ध पहिलो मैत्रीपूर्ण खेल खेल्दै छ।
नेपालको घरेलु मैदान दशरथ रंगशालामा यी दुई पुराना प्रतिद्वन्दीबीचको खेल नेपाली समयअनुसार साँझ ५:३० बजे सुरु हुँदै छ। १३औं संस्करणको साफ च्याम्पियनसिपको तयारी खेलको रूपमा नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

खेल मैत्रीपूर्ण भनिए पनि यी दुई छिमेकी राष्ट्रबीचको खेल जहिले पनि ‘हाई इन्टेन्सिटी’को रहने गरेको छ। नेपाललाई भारतीय कप्तान सुनिल क्षेत्रीले बलियो प्रतिद्वन्दी भनेका छन् तर दक्षिण एसियाली फुटबल क्षेत्रमा भारतको दबदबाबारे इतिहास साक्षी छ।
यी दुई राष्ट्रले अहिलेसम्म आधिकारिक रूपमा १९ खेल खेलेका छन्। जसमध्ये भारतले १३ खेल जित्दा नेपालले मात्र दुई खेल जित्न सफल भएको छ। साफ च्याम्पियनसिपकै इतिहास हेर्ने हो भने पनि १२ वटा प्रतियोगितामा भारतले ७ पटक उपाधि आफ्नो कब्जामा पार्न सफल भएको छ। नेपाल र भारतबीच खेलिएका १९ खेल मध्ये पछिल्ला चार खेलको नतिजा केही यसप्रकार रहेको थियो।

१) १७ मार्च २०१५, काठमाडौं
नेपाल ०-० भारत
फिफा विश्वकप २०१८ को छनोट खेलअन्तर्गत नेपाल र भारतबीचको दोस्रो लेगको खेल गोलरहित बराबरीमा अन्त्य भएको थियो। गुवाहाटीमा खेलिएको पहिलो लेगमा भारतले २-० गोलको अग्रता लिएको कारण समग्रमा खेल भारतले जितेको थियो।
२) ३१ अगस्ट २०१५, पुने
भारत ०-० नेपाल
भारत र नेपालबीच महाराष्ट्रमा भएको मैत्रीपूर्ण खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए। यो खेल नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान सागर थापाको अन्तिम खेल थियो।

३) २७ डिसेम्बर २०१५, केरेला
भारत ४-१ नेपाल
११औं साफ च्याम्पियनसिपअन्तर्गत समूह चरणको खेलमा नेपालले आयोजक राष्ट्र भारतसँग ४-१ गोलको लजास्पद हार बेहोरेको थियो। नेपालले सो खेलमा अग्रता लिए पनि भारतले सहज जित दर्ता गर्न सफल भएको थियो।
४) ०७ जुन २०१७, मुंबई
भारत २-० नेपाल
भारत र नेपालबीचको यस मैत्रीपूर्ण खेलमा नेपालले घरेलु टोलीविरुद्ध राम्रो प्रदर्शन गरे पनि भारतले खेलमा सहज जित निकाल्न सफल भएको थियो।

आर्थिक पूर्वाधार, व्यवस्थित एकेडेमी र नियमित लिग सञ्चालन, कुनै पनि राष्ट्रले खेलकुदमा विकास गर्न चाहिने प्रमुख पूर्वाधार यही नै हुन्। र भारतले यो तीनवटै कुरामा राम्रो व्यवस्था मिलाएको छ। तर फुटबलको मिठास र विशेषता यो पनि हो की यहाँ कमजोर मानिएका टोलीले बलियो टोलीलाई हराउने गर्दछन्। यस पटक नेपाललाई सोही मौका मिलेको छ।
नेपाली राष्ट्रिय टोलीले पछिल्लो पटक घरेलु मैदानमा आयोजना भएको थ्री नेसन्स कपमा शानदार प्रदर्शन गरेको थियो। लामो समयपछि अन्तराष्ट्रिय फुटबलमा उपाधि उचालेको नेपालले कुवेतमा आयोजित फिफा विश्वकप छनोट खेलमा पनि राम्रै प्रदर्शन देखायो।

नेपालले बलिया टोली जोर्डन र अस्ट्रेलियाविरुद्ध हार भोगे पनि मैदानमा देखाएको प्रदर्शन भने तारिफयोग्य थियो। कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको आगमनसँगै भित्रिएको एट्याकिङ फुटबल मनसायले गर्दा नेपालको आक्रामक प्रदर्शनमा विकास भएको देख्न सकिन्छ।
त्यसमाथि साफ च्याम्पियनसिपको लागि भनेर नेपाली टोलीले बन्द प्रशिक्षण थालेको पनि दुई महिना बितिसकेको छ। नियमित तथा सन्तुलित अभ्यासले गर्दा नेपाली टोली मानसिक रूपमा बलियो भएको धारणा राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङको रहेको छ।

नेपालको लक्ष्य साफ च्याम्पियनसिप रहेपनि भारतविरुद्धको यो मैत्रीपूर्ण खेलको नतिजा निकै महत्वपूर्ण रहेको देखिन्छ। कुनै पनि प्रतियोगितामा प्रतिस्पर्धा गर्नुअघि त्यस प्रतियोगिताकै सबैभन्दा बलियो टोलीलाई पराजित गर्नु भनेको चानचुने कुरा होइन, र यसले खेलाडीको मनोबलमा कस्तो असर पर्छ भन्ने कुराले पनि ठूलो मान्य राख्दछ।
भन्नै पर्दा, नेपालले भारतविरुद्ध जित निकाल्ने सुवर्ण अवसर पनि अहिले नै हो। साफ च्याम्पियनसिपको लागि भारतको तयारी ढिला सुरु भयो। यही अगस्ट १५ देखि भारतले थालेको आफ्नो अभ्यासमा कप्तान सुनिल क्षेत्रीसहित बेंगालुरु एफसी तथा एटीके मोहन बगानका खेलाडी सम्मिलित थिएनन्। एएफसी फुटबलले गर्दा यी दुई क्लबका खेलाडी अगस्ट २८ र २९ मा मात्र राष्ट्रिय टोलीमा सामेल भए।

अगस्ट ३० मा नेपाल आएको भारतीय टोलीले अभ्यासको लागि पर्याप्त समय पाएको छैन। त्यसमाथि व्यावसायिक फुटबल खेल्न क्रोएसियाको साईबेनिक गएका भारतका प्रमुख रक्षक सन्देश झिङ्गन पनि टोलीमा समावेश छैनन्।
घरेलु मैदान, घरेलु समर्थक, पर्याप्त अभ्यास र सही समय, नेपाललाई भारतविरुद्ध जित सजिलो त छैन तर अपरिहार्य रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया