उदयपुर । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले मंगलकारदेखि कोभिशिल्डको पहिलो डोज खोप लगाएको झण्डै सात महिनापछि जेष्ठ नागरिकलाई दिइने दोस्रो डोजका लागि एस्ट्राजेनेका खोप लगाउँदै छ । कार्यालयले गत फागुन दोस्रो साता कोरोनाविरुद्धको कोभिशिल्डको पहिलो मात्रा लगाएका उदयपुरबासीलाई १५ देखि ३० भदौसम्म दोस्रो मात्रा लगाउने जानकारी दिएको छ ।
गत २३ फागुनदेखि १० चैतसम्म ६५ वर्षमाथिका १० हजार ५६८ जना जेष्ठ नागरिकलाई भारतमा उत्पादित कोभिशिल्ड खोप लगाइएको थियो । पहिलो डोज लगाएको चार सातादेखि १६ सातासम्ममा लगाइसक्नुपर्ने खोप भारतले उपलब्ध नगराउँदा सात महिनासम्म जेष्ठ नागरिकले दोस्रो डोज लगाउन नपाएका हुन् । नेपाल सरकारले खरिद गरेको कोभिशिल्ड खोप भारतले रोकिदिँदा यस्तो समस्या भएको हो ।
पहिलो मात्रा कोभिशिल्ड खोप लगाएका जेष्ठ नागरिकलाई अहिले छिमेकी मुलुक भूटान र जापानले उपलब्ध गराएको एस्ट्राजेनेका खोप लगाइँदै छ । कोभिशिल्ड खोप र एस्ट्राजेनेकाको कम्पोजिसन एकै भएकाले यो खोप लगाउन लागिएको कार्यालयले बताएको छ ।
जिल्ला खोप समन्वय समिति उदयपुरको बैठकले जिल्लाका आठवटा स्थानीय तहमा २१० वटा खोप केन्द्र निर्धारण गरी संचालन गरेर खोप लगाउने काम भइरहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका खोप सुपरभाइजर चिरन्जीवी निरौलाले जानकारी दिए ।
जिल्लाका सबै स्थानीय तहका २१० वटा खोप केन्द्रमार्फत मंगलबारदेखि खोप लगाउने काम भइरहेको छ ।
स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख रामनरेश ठाकुरका अनुसार फागुन अन्तिम र चैत पहिलो साता पहिलो डोज लगाएका सबै जेष्ठ नागरिकका लागि १३ हजार डोज खोप आएको हो ।
खोप समन्वय समितिको बैठकले सदरमुकाम त्रियुगा नगरपालिकामा १५ देखि १८ भदौसम्म खोप दिने निर्णय गरेको छ भने चौदण्डीगढी र बेलका नगरपालिकामा १५ देखि १९ भदौसम्म तथा लिमचुङबुङ र रौतामाई गाउँपालिकामा १७ देखि २० भदौसम्म खोप दिइनेछ ।
त्यस्तै, जिल्ला अस्पताल गाईघाटमा १६ र १८ भदौमा खोप लगाइनेछ भने उदयपुगढी र ताप्ली गाउँपालिका तथा कटारी नगरपालिकामा २६ देखि ३० भदौसम्म खोप दिइने कार्यक्रम छ ।
कटारी नगरपालिका, उदयपुरगढी गाउँपालिका र ताप्ली गाउँपालिकामा बालबालिकाहरूको नियमित खोप परेकाले मंगलबारदेखि तीनवटा पालिकामा खोप संचालन हुन सकेको छैन । त्यहाँ केही दिनपछि मात्र कोरोनाविरुद्धको खोप संचालन हुने जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।
उदयपुरमा दुवै डोज खोप लगाउनेको संख्या ४९ हजार ५६४ जना पुगेको छ । अहिले जेष्ठ नागरिकका लागि संचालन हुँदै आएको दोस्रो डोज एस्ट्राजेनेका खोप १० हजार ६६८ जनालाई लगाउने लक्ष्य रहेको छ । यो पूरा भएपछि ६० हजार १३२ जनाले खोपको दुवै डोज पूरा गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया