खोटाङ। २१ वर्षीय युवती घरैमा मृत फेला परेको घट्नामा प्रहरीले ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी लिन अस्वीकार गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ माइती घर भई एक वर्षअघि हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेको तल्लो चिचिङ्गाका मनकुमार राईसँग विवाह गरेकी शिक्षा राई घरैमा झुण्डिएको अवस्थामा मृत फेला परेको घट्नामा प्रहरीले किटानी जाहेरी लिन अस्वीकार गरेको गुनासो माइती पक्षले गरेकाे छ ।
शिक्षाका श्रीमान मनकुमारविरुद्ध ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिन पटक–पटक जिल्ला प्रहरी कार्यालय पुग्दा प्रहरीले अस्वीकार गरेको मृतकका काका ज्ञानबहादुर राईले बताए । दुई पटक जिल्ला प्रहरी कार्यालय पुग्दा पनि किटानी जाहेरी लिन अस्वीकार गरेपछि आत्महत्या दुरुत्साहनसम्बन्धी उजुरी दिएकाे उनले सुनाए ।
शिक्षा भदौ ७ गते राति घरैमा मृत फेला परेकी थिइन् । भदौ ९ गते माइतीपक्षले आत्महत्या दुरुत्साहन सम्बन्धी उजुरी दिएपछि आरोपी शिक्षाका श्रीमान मनकुमारलाई प्रहरीले ९ गते पक्राउ गरेको जनाएको छ । आत्महत्या दुरुत्साहन कसुरमा उजुरी दिएर फर्किएका माइती पक्ष मृतकको शारीरिक अवस्था र घट्नाकाे प्रकृतिका आधारमा पुःन भदौ १० गते ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिन जिल्ला प्रहरी कार्यालय पुगेका थिए । तर, प्रहरीले नै ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दरखास्त लिन नसकिने भन्दै फर्काएको काका ज्ञानबहादुरले गुनासो गरे ।
माइती पक्षले शनिबार पत्रकार सम्मेलनकाे आयाेजना गरी प्रहरीबाट घट्नामा संलग्न दोषीलाई बचाउन खोजिएको आशंका गरेका छन् । सुरुमा कटहरको रुखमा झुण्डिएको भनेर खबर गरेपछि घट्नास्थल पुग्दा घरको बरण्डाको काठमा झुण्डिएको भनिएको उनले बताए ।
प्रहरी नपुग्दै डोरीबाट शव निकालेर राखिएको, माइतीपक्ष नपुग्दै मुचुल्का उठाइएको, मृतकले करिब ७ फिट अग्लो बरण्डामा आफै डोरी झुण्ड्याउन नभेट्ने तथा डोरी झुण्ड्याउनका लागि केही पनि सामानकाे प्रयोग नगरेको पाइएको, डोरीको पासो पनि सुर्के लाग्ने अवस्थामा नभएको, मृतकको नाक र मुखमा रगत देखिएको, दाहिने कोखामा निलडाम देखिएको, देब्रे हातमा कोतारिएको देखिनुले शिक्षाको आत्महत्या नभई हत्या भएको माइती पक्षको दाबी छ ।
जाहेरीमा भएको झमेलाकै कारण उनको भदौ १० गते मात्रै पोष्टमार्टम गरिएको थियो । श्रीमानले कुटपिट गरिरहने र परिवारबाट पनि मानसिक तनाब दिने गरेको भन्दै शिक्षाले माइतीपक्षका साथीभाइलाई फेसबुक मेसेञ्जरबाट गुनासो पोख्ने गरेको बताइएको छ ।
प्रहरीले ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दरखास्त लिन नमानेको भन्दै मृतकका आफन्तको आग्रहमा पूर्वजिविस सभापति बिष्णुकुमार राई र बाम्राङका वडाध्यक्ष ललितकुमार राईसमेत जिल्ला प्रहरी कार्यालय पुगेका थिए। जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले भने शिक्षाका श्रीमानविरुद्ध ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दरखास्त नआएको र आएमा दर्ता हुने बताए ।
‘उहाँहरुले आत्महत्या दुरुत्साहनमा जाहेरी दिनु भएको छ । यो पनि किटानी जाहेरी नै हो । पोष्टमार्टम रिपोर्ट आउँछ, त्यो बेलासम्म पर्खेर अन्य प्रकृया अघि बढाऔं भन्ने सल्लाह भएपछि उहाँहरु जानु भएको थियो,’ डिएसपी लम्सालले भने, ‘किटानी जाहेरी आए भने दर्ता नगर्ने भन्ने कुरै हुन्न, दर्ता गरेर पठाइदिन्छौँ । आफ्नो क्षेत्राधिकारभित्र आएको जाहेरीलाई दर्ता गर्नुपर्छ, मिल्दैन भने मिल्दैन भनेर फिर्ता गर्नुपर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया