काठमाडौं । विभिन्न मागहरुसहित मंगलबार पार्टी कार्यालयमा धर्ना दिएका नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले आजबाट रिले अनशन सुरु गर्ने भएका छन् ।
बुधबार (आज) बिहान ११ बजेबाट पार्टी कार्यालय सानेपामा २४ घण्टे रिले अनसन बस्न लागेको नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति जगदिश्वर नरसिंह केसीले लोकपथलाई जानकारी दिए ।
यसअघि मंगलबार विभिन्न आफ्ना तीन मागहरुसहित जिल्ला सभापतिहरुले पार्टी कार्यालयमा धर्ना दिएका थिए । धर्नाबाट नेतृत्वले आफूहरुको जायज माग सुन्ने छाँटकाँट नदेखाएको भन्दै आफूहरुले रिले अनशन बस्न बाध्य भएको नेता केसीको भनाइ रहेको छ ।
‘विभिन्न ३ मागहरुसहित हामीले बुधबार पार्टी कार्यालयमा धर्ना दिएका थियौँ । तर नेतृत्वले ती मागहरुको सम्बोधन गर्ने छाँटकाट नदेखाएपछि हामी रिले २४ घण्टे रिले अनसन बस्न लागेका हौँ ’, नेता केसीले भने ।
रिले अनसनमा जगदिश्वर नरसिंह केसी (नुवाकोट), मधु आचार्य (काभ्रे) र रमेश धमला (धादिङ) लगायत जिल्ला सभापतिहरु बस्नेछन् भने अन्य जिल्ला सभापतिहरुले रिले अनशनलाई ऐक्यबद्धता जनाउने बताइएको छ ।
यी हुन् मागहरु :
१. प्रत्येक सदस्यको क्रियाशील सदस्यताबारे सुसूचित हुन पाउने अधिकारको सम्मान गर्दै अविलम्ब क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गरियोस ।
२. क्रियाशील सदस्यता तहगत निर्णय गरियको सूचीका त्रुटि कमजोरीमाथि पार्टीको विधि, विधान र निर्धारित मापदण्डबमोजिम सत्यतथ्य छानबिन गरेर मात्र अन्तिम रुप प्रदान गरियोस् ।
३. सबै जिल्लाका सभापतिको निर्वाचन प्रकृयामा एकरूपता आउनेगरी निर्वाचन निर्देशिकालाई संशोधन गरियोस् ।
पटक-पटक मिति सार्दै कांग्रेसको १४ औँ महाधिवेशन आगामी भदौ १८ गतेबाट सुरु हुँदै छ । लामो समयसम्म क्रियाशील सदस्यता विवाद रहेको कांग्रेसभित्र विवाद समाधान भन्दै कार्यदलले सोमबार प्रतिवेदन समेत बुझाएको छ । भदौ १८ गते वडा तहको अधिवेशन हुँदै मंसिर ९ गतेदेखि ११ गतेसम्म केन्द्र तहमा केन्द्रीय महाधिवेशन हुँँदै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया