प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मोदी प्रसन्न

नयाँदिल्ली, २४ चैत- भारतीय समकक्षी नरेन्द्र मोदीले ट्वीट गरेका छन्– ‘नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर प्रसन्न छु ।’ मोदीसँग भेटवार्ता गरेर नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा आइपुगेका प्रधानमन्त्री ओली पनि निकै प्रसन्न देखिन्थे, कान्तिपुर दैनिकमा खबर छ  । ‘भेटघाट मुलुकलाई समृद्ध बनाउनेमा केन्द्रित र फलदायी रह्यो,’ सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘मेरो उहाँ (प्रधानमन्त्री मोदी) सँग नेपाल–भारत सम्बन्धलाई कसरी थप मजबुत बनाउन सकिन्छ भन्नेमा छलफल भयो । उहाँ पनि नेपालसँग राम्रो सम्बन्ध राखेर भारत अघि बढ्न चाहनेमा स्पष्ट हुुनुहुन्थ्यो ।’ प्रधानमन्त्री ओलीले दुई देशको सम्बन्ध सधैं मित्रभावमा र सबै स्तरमा अघि बढाउनेबारे समेत छलफल भएको जानकारी दिए । ‘नेपाल र भारतबीच असमझदारी यसअघि नै हटिसकेको छ,’ उनले थपे, ‘दुई देशबीचको पुरानो र घनिष्ट सम्बन्धलाई कसरी एकअर्काका परिपूरकका रूपमा थप प्रगाढ बनाउने भन्नेमा छलफल बढी केन्द्रित भयो ।’ रात्रिभोजका पाहुनाहरूमाझ प्रधानमन्त्री ओली निकै उत्साही देखिन्थे । उनले झन्डै एक घण्टा उभिएर कूटनीतिज्ञ तथा बुद्धिजीवीहरूलाई भेटे । दुई प्रधानमन्त्रीबीच शनिबार भेटघाट गर्ने कार्यक्रम तय थियो । तर, शुक्रबार साँझै एक घण्टाभन्दा बढी एक्लाएक्लै (वान अन वान) भेटवार्ता भयो । ओलीले भने, ‘नेपाल र भारतबीच अब कुनै समस्या छैन ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?