काठमाडौँ, २४ चैत- राजधानीको शंखमूल बस्दै आएका दीपेन्द्र विष्टले करिब ३ वर्षअघि फाइनान्सिङ (बैंकबाट ऋण लिएर) मा कार (निजी सवारीसाधन) किने । प्यूठान स्थायी घर भएका विष्टले एक वाणिज्य बैंकसँग साढे ६ प्रतिशत ब्याजदरमा ऋण सम्झौता गरेका थिए ।हाल उनको ब्याजदर बढेर साढे १२ प्रतिशत पुगिसकेको छ । यो शतप्रतिशत वृद्धि हो । साढे ६ प्रतिशतमा सम्झौता गरेको ग्राहकले साढे १२ प्रतिशत ब्याज तिर्न सक्छ कि सक्दैन भन्ने विचार नगरी बैंकले एकतर्फी रूपमा ब्याजदर बढाएको छ । एक महिनामा ३ पटकसम्म बैंकबाट ब्याजदर वृद्धिको एसएमएस आएको उनले बताए, कान्तिपुरमा खबर छ ।यो प्रतिनिधि घटना मात्रै हो । बैंक तथा वित्तीय संस्थाबाट हरेक दिन ग्राहकले यस्ता अनेक समस्या भोग्दै आएका छन् । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिँदा होस् वा बचत गर्दा ग्राहकले सहमतिपत्रमा हस्ताक्षर गर्नुपर्छ । उक्त सम्झौतामा लागतमा परिवर्तन भएअनुसार ब्याजदर परिवर्तन गरिने उल्लेख हुन्छ । सोहीअनुसार कोषको लागत बढेपछि बैंकहरूले ऋणको ब्याज पनि बढाउँछन् ।सोही सहमतिलाई आधार मान्ने हो भने कोषको लागत घट्दा ऋणको ब्याजदर पनि घट्नुपर्ने हो तर बैंकहरूले घटाउँदैनन् । यो बैंकहरूको बदमासी हो । लागत घटेको थाहा पाएर कुनै ग्राहक बैंकमा गएर रोइकराइ गर्यो् भने मुस्किलले उसको ब्याजदर केही घट्छ तर अरू ग्राहकको घटेको हुँदैन । सबै ग्राहकलाई कतिबेला लागत बढ्छ/घट्छ भन्ने थाहा हँुदैन । यसकारण सबै ग्राहक बैंकमा पुगेर ब्याजदर घटाउन आग्रह गर्न सम्भव हुँदैन । यही कमजोरीको फाइदा बैंक तथा वित्तीय संस्थाले उठाइरहेका छन् ।केही बैंकहरू भने लागत घटेका बेला पुरानो ऋणको ब्याजदर घटाउन ग्राहकले बैंकमा आवेदन दिनुपर्ने बताउँछन् तर यो कुरा न त सार्वजनिक सूचनामा आउँछ, न त मोबाइल एसएमएसमा । बैंकहरूको यो भनाइप्रति ग्राहक असन्तुष्ट छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया