रेल्वे कम्पनीका महाप्रबन्धक भट्टराईले दिए राजीनामा (पत्रसहित)

लोकपथ
203
Shares

काठमाडौं । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले पदबाट राजीनामा दिएका छन् ।

बुधबार महाप्रबन्धक भट्टराईले राजीनामा दिएका हुन् ।

गत साउन १९ गते बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईसँग स्पष्टीकरण सोधेको थियो ।

महाप्रबन्धक भट्टराईले आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राजीनामा दिँदैआफूले नियुक्ति लिएको दिनदेखि इमान्दारितापूर्वक काम गरेको र आफूले नेपाललाई रेल युगमा प्रवेश गर्न महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

‘मैले रेल्वे कम्पनीको महाप्रबन्धक पदमा नियुक्ती लिएको दिनदेखि इमान्दारितापूर्वक निरन्तर कम्पनीको काममा लागेर मृत प्रायः अवस्थमा रहेको नेपाल रेल्वे कम्पनी लिमिटेडलाई पुनर्जीवन दिई पहिलो चरणमा जयनगर-जनकपुर-कुर्था खण्डमा रेल सेवा सञ्चालन गर्न तयारी अवस्थमा पुर्‍याएको छु ।’ उनले भनेका छन्- ‘नेपालमा आधुनिक रेल प्रविधि भित्र्याउने, नेपालमा नै रेल्वेसँग सम्बन्धित दक्ष जनशक्ति उत्पादन गर्ने क्रममा योगदान गरी नेपाललाई रेल युगमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेको स्पष्ट नै छ । ’

भट्टराईले  कामकारबाहीमा त्रुटि देखाई सोधिएको स्पष्टीकरणमा खण्डन समेत गरेका छन् । सरकारले स्पष्टीकरण सोध्ने क्रममा लगाएका आरोपहरु आफ्नो पदीय जिम्मेवारीभन्दा बाहिरका र असान्दर्भिक रहेको उनको दाबी  छ ।

रेल सञ्चालनका लागि तयारी रहिरहेका बेला दिनुपरेको राजीनामाले सबै प्रक्रियाहरुमाथि नै गम्भीर असर पर्ने उनको धारणा छ । त्यस्तै वर्तमान सरकार आएसँगै राजनीतिक पूर्वाग्रहको आधारमा पूर्वाग्रही ढंगले पूर्ववर्ती सरकारले गरेका नियुक्तिहरु खारेजी गरिएको उनको आरोप छ ।

‘अतः रेल सञ्चालनका लागि गर्नुपर्ने पूर्वतयारीहरु रहेको अवस्थामा सञ्चालन प्रक्रियालाई नै गम्भीर असर पर्नेगरी राजनीतिक प्रतिशोधबाट पूर्वाग्रही ढंगले पूर्ववर्ती सरकारले नियुक्त गरेका सबै नियुक्तीहरु खारेज गर्ने भन्ने वर्तमान सरकारको घोषित नीतिअनुरुप बर्खास्त गर्ने उद्देश्य लिई मलाई सफाई पेस गर्न भनी ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्वद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयनसम्बन्धी मापदण्ड २०७७ को दफा ९ को खण्ड (घ)’ मा व्यवस्था नै नभएको विषयमा आरोप लगाइ स्प्ष्टीकरणको नाटक मन्चन हुँदा देश र जनताप्रति गैरजिम्मेवार, प्रतिशोधी, अराजनीतिक ढंगले स्थापित र विकासविरोधी तथा जनविरोधी सरकारअन्तर्गत रहेर पदीय जिम्मेवारी निभाउन नसकिने तथा देश र जनताविरुद्ध विभिन्न अवान्छित स्वार्थहरुको गठजोडले बनेको गंगटे सरकारले गर्ने जनविरोधी कामहरुको सहयात्री र मुकर्दशक हुन मेरो नैतिक मूल्य मान्यता र मुलुक प्रतिको अगाध प्रेमले नदिने हुँदा मैले आजैको मितिबाट लागू हुनेगरी नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धक पदबाट राजीनामा दिएको छु ।’ उनले बुझाएको राजीनामा पत्रमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?