धनगढी । छाडा पशुचौपायाको समस्या बढेपछि धनगढी उपमहानगरपालिका वडा नम्बर ७, देवहरिया सामुदायिक वनमा चार वर्षअघि अस्थायी गौशाला निर्माण गरियो । गौशालामा काठ, तार र जालीले घेरेका तथा जस्तापाता लगाइएका दुईवटा टहरा छन् । एउटा टहरामा गाईवस्तुलाई राखिने गरिएको छ । भने अर्को टहरामा पशुचौपायाका लागि आवश्यक पराल, भुसालगायतका आहारा भण्डारण गर्नेगरिएको छ ।
धनगढी उपमहानगरपालिकाका मुख्य सडकहरूमा छाडा पशुचौपायाका कारण सवारी दुर्घटनामा वृद्धि, यातायात सञ्चालनमा कठिनाइ हुनुको साथै अन्नबाली नोक्सान हुन थालेपछि उपमहानगरपालिकाले २०७४ साउन २५ मा वनस्पति अनुसन्धान केन्द्र र जिल्ला प्रशासन कार्यालयसँग व्यवस्थित गौशाला निर्माण गर्ने भन्दै एक वर्षका लागि सम्झौता गरेको थियो । तर, उपमहानगरपालिकाले व्यवस्थापनमा ध्यान दिएको छैन । परिणाम गौशालाको छेउमै रहेको वनस्पति अनुसन्धान केन्द्रले स्थापना गरेको देवहरिया वनस्पति उद्यानको संरक्षणमा नै चुनौती थपिएको छ ।
वनस्पति अनुसन्धान केन्द्र धनगढीका निमित्त कार्यालय प्रमुख मदनराज भट्टले भने, ‘गौशालामा राखिएका गाईगोरुको चरिचरण क्षेत्र वनस्पति उद्यान बनेको छ। बिहान र रातिको समयमा स्थानीयहरूले समेत त्यहाँ आफ्ना पशुचौपायाहरूलाई चरिचरन गराइरहेका छन् ।

निमित्त कार्यालय प्रमुख भट्टले दिनभरि उद्यानमा रहेका कर्मचारीहरूले त्यहाँ रहेका पशुचौपाया धपाउने गरे पनि जनशक्ति अभावमा बिहान र रातिको समयमा समस्या हुनेगरेको बताए ।
‘उपमहानगरपालिकाले देवहरिया वनस्पति उद्यानमा कुनै किसिमको समस्या नपर्ने गरी गौशाला निर्माण गर्ने सम्झौता गरेको थियो’ उनले थपे, ‘तर उपमहानगरपालिकाले सम्झौताअनुसार काम गरेन । अहिले हामीलाई निकै समस्या भएको छ ।’
उनका अनुसार सम्झौतापत्रमा उद्यानभित्र जथाभावी रूपमा गाईगोरुहरूलाई छोड्न नपाइने र तोकिएको स्थानमा मात्र चरन र पानीको व्यवस्था गर्ने भन्ने उल्लेख छ । तर अहिले गौशालामा रहेका हेरालुले उद्यानभित्र नै जहीँतहीँ गाईगोरु चराउने र उद्यानकै तालमा पानी खुवाउने गरेका छन् ।
उनले गौशालाका पशुचौपायाका कारण उद्यानमा रहेको जैविक विविधतामा दिनहुँ क्षति पुगिरहेको बताए ।
निमित्त कार्यालय प्रमुख भट्टले अहिले उपमहानगरपालिकाले जाखोर तालमा गरिरहेको निर्माणका कारण पनि उद्यान संरक्षणमा समस्या थपिएको बताए । उनले भने, ‘नजिककै रहेको तालमा उपमहानगरपालिकाले ठेक्का लगाएर निर्माणकार्य गरिरहेको छ । यसले गर्दा बाटो खुला भएको छ । मानिसहरू आउने, बस्ने, आफ्ना गाईवस्तु चराउने गरिरहेका छन् ।’

वनस्पति अनुसन्धान केन्द्रले गाईगोरु व्यवस्थापनका लागि उपमहानगरपालिकालाई दश हेक्टर जमिन उपलब्ध गराएको छ ।
देवहरिया वनस्पति उद्यानमा दुर्लभ, लोपोन्मुख, रैथाने तथा संकटापन्न सूचीमा सूचीकृत वनस्पतिहरूको संरक्षण गरिरहेको छ ।
धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले छाडा पशुचौपाया व्यवस्थापनका लागि देवहरियामा गौशाला निर्माण गरेको र गौशालामा आवश्यक पराल, पानीलगायतको व्यवस्थापन धनगढी उपमहानगरले नै गर्नेगरेको बताए । उनका अनुसार गौशालामा अहिले साढे तीन सयभन्दा बढी गाईगोरु रहेका छन् भने व्यवस्थापनका लागि १० जना हेरालु राखिएको छ ।
‘हामीले वनस्पति उद्यानको जग्गाबाहेक सम्झौता गरेको जग्गाभित्र दुई/तीन घण्टा चरिचरन गराउने गरेका छौँ’ नगरप्रमुख वडले भने, ‘हामीले जैविक विविधता संरक्षणमा ह्रास आउने कुनै काम गरेका छैनौँ ।’
डेढ वर्षको सम्झौता, हटेन गौशाला
धनगढी उपमहानगरपालिकाले सम्झौताअनुसार काम नगरेपछि २०७५ कात्तिकमा वनस्पति अनुसन्धान केन्द्रले गौशाला हटाउन अनुरोधसहितको पत्र पठाएको थियो । सो पत्रपश्चात् उपमहानगरपालिकाले अर्को गौशालाको व्यवस्थापन नभएसम्मका लागि छ महिनाको म्याद लागि सम्झौताको अवधि थपेको थियो ।
तर, थपिएको म्याद सकिए पनि धनगढी उपमहानगरपालिकाले न त अर्को गौशालाको व्यवस्था गरेको छ, न अस्थायी गौशालालाई सम्झौताअनुसार सञ्चालन नै गर्न सकेको छ ।
अनुसन्धान केन्द्रका निमित्त प्रमुख भट्टले भने, ‘सहरबजारमा जथाभावी छोडिएका पशुचौपायालाई तत्कालका लागि अस्थायी प्रकृतिको काँढेतारसहितको घेरबार र पशुचौपायाहरूको उचित चरन, आहारा रेखदेखको कन्दोकस्त, बेवारिसे गाई संरक्षण र व्यवस्थापन गर्न जरुरी देखिएकोले प्रमुख जिल्ला अधिकारीको सल्लाहबमोजिम सो सम्झौता गरिएको थियो ।’ उनले केन्द्रले उद्यानभित्र गौशाला सञ्चालनको सम्झौता मिति सकिएको र सम्झौता नवीकरणसमेत नभएकोले अन्यत्र पशुचौपाया व्यवस्थापन गर्न अनुरोध गर्दा उपमहानगरपालिकाले ध्यान नै नदिएको बताए । उपमहानगर र केन्द्रबीच पछिल्लो समय सहकार्य समेत नभएको उनले बताए ।
घरका पशु राखी रकम असुल्दै गौशाला
सडकमा रहेका छाडा पशुचौपायाको व्यवस्थापन गर्ने भन्दै ‘गौ संरक्षण समिति’ले धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित गौशाला सञ्चालनमा ल्यायो । तर, सो गौशालामा सडकका भन्दा बढी घरकै गाईहरू रहेको बताइन्छ ।
धनगढी उपमहानगरपालिका, प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेशसभा सदस्य डिल्लीराज पन्त र स्थानीयको मुठ्ठीदानबाट निर्माण भएको सो गौशालाले घरबाट आएका गाई बाच्छाहरूबाट रकम लिइरहेको छ ।
गौशाला सञ्चालनमा तत्कालका लागि बलियो आयास्रोत नहुँदा समस्या भएपछि सो समितिले घरका गाईबाच्छा गौशालामा राख्ने गरेको स्थानीयहरूको आरोप छ । धनगढी उपमहानगरपालिका वडा नम्बर २ का स्थानीय गणेशबहादुर बोहराले बाच्छा गौशालामा राख्ने सोच बनाई समितिका मान्छेलाई फोन गर्दा वार्षिक तीन हजार रुपैयाँ दिनुपर्ने भनेको बताए ।

समितिका अध्यक्ष भोजराज पाठकले हेरालुदेखि गाईगोरुको दाना चारोका लागि समस्या हुनेगरेको बताए । ‘मुठ्ठीदानबाट मासिक रुपमा केही रकम संकलन हुनेगरेको छ’, उनले भने, ‘तर, त्यसले मात्र पुग्दैन ।’ गौशाला सञ्चालका लागि मासिक न्यूनतम ६० हजार रुपैयाँसम्म खर्च हुनेगरेको उनले बताए । ‘तीन जना हेरालु राखिएको छ, उनीहरूलाई मासिक तलब दिनु नै पर्यो अनि गाईगोरुलाई पनि भुसा पराल किन्दा त्यतिले पुग्दैन’ उनले भने ।
२०७५ बाट सञ्चालन भएको सो गौशालामा अहिले ७०–७५ वटा गाईगोरु छन् । गौशाला निर्माणकार्यमा ३६५ जना आजीवन सदस्य रहेका छन् । गौशालामा धनगढी उपमहानगरपालिका, सांसद डिल्लीराज पन्तको प्रदेश सांसद कोषको रकम र प्रदेश सरकारको गरी झण्डै एक करोड ७५ लाख रुपैयाँ खर्च भइसकेको छ । गौशालामा एक सय ५० भन्दा बढी गाईगोरु अटाउने क्षमता भएको गोठ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया