महँगी र कोरोनाका कारण तीजको मुखमा पनि सुन बजारमा छैन रौनक : उपभोक्तालाई सुन होइन नुन चाहियो

काठमाडौं । तीज नजिँकिँदै गर्दा सुन बजारमा चहलपहल देखिएको छैन । एकातिर हरेक दिनजसो उकालो लागेको सुनको भाउ र अर्कातिर कोरोनाका कारण क्रयशक्ति कम हुँदा सुन बजारमा रौनक देखिएको छैन ।

कोरोनाका कारण आम मानिस कयौँको रोजगारी गुम्ने तथा कयौँको सेवासुविधा कटौती भएका कारण आम मानिसको क्रयशक्तिमा ह्रास आएको छ । त्यसैले बजारमा चहलपहल नभएको सुनचाँदी व्यवसायी महासंघका संस्थापक अध्यक्ष तथा विशिष्ट सदस्य मणिरत्न शाक्यले बताए ।

विगतका दिनहरूमा तीज नजिँकिँदै गर्दा दैनिक ५० देखि ६० केजीको हाराहारीमा बिक्री हुने गर्दथ्यो । जब तीजका लागि सुनको अर्डन आउँथ्यो, तब दशैं र तिहारमा पनि सुनको कारोबार राम्रो हुँदै छ भन्ने संकेत देखापथ्र्याे । अघिल्लो वर्षदेखि सुन बजार लगभग ठप्पजस्तै छ ।

कोरोना संक्रमणका कारण सरकारले अघिल्लो चैतदेखि नै मुलुकभरि लकडाउन गरेको थियो । लकडाउनका कारण अत्यावश्यकबाहेक सबै उद्योग कलकारखाना, पर्यटन क्षेत्रलगायत सम्पूर्ण ठप्प थिए । पछि केही समय बजार खुल्यो पनि । अर्थतन्त्र केही मात्रामा भए पनि चलायमान हुन थाल्यो । तर पुनः कोरोनाको दोस्रो लहर आएसँगै सुन बजार पुनः प्रभावित भयो ।

अरु क्षेत्रका तुलनामा सुन बजार बढी नै प्रभावित भयो । किनकि सुन विलासिताको वस्तु भएकाले लकडाउनमा पनि तत्काल बजार खुलेन । सरकारले गत वैशाखदेखि गरेको लकडाउमा पनि सुन अत्यावश्यक वस्तु नभएकाले आम उपभोक्ता सुनतर्फ आकर्षित हुन सकेनन् । त्यसैले चाडबाड नजिकिँदै गर्दा पनि बजारमा रौनकता नदिएको संस्थापक अध्यक्ष शाक्यको भनाइ छ ।

सुनभन्दा नुन महत्वपूर्ण
कोरोनाका कारण आम उपभोक्ताको क्रय शक्तिमा ह्रास आएका कारण सुन किन्न सक्ने अवस्था छैन । नयाँ किन्नेभन्दा पुरानो बेच्ने र पुरानै सुनबाट गरगहना बनाउने बढेका छन् । अहिले उपभोक्ता भान्छामा नुन, तेल पु¥याउन समस्या भइरहेका बेला सुन किन्ने हैसयित नभएको शाक्यको भनाइ छ । ‘अहिले उपभोक्तालाई नुनतेल खान समेत समस्या भइरहेका बेला सुनको परिकल्पना गर्नै सक्दैनन् ।’ उनले भने ।

उपभोक्तालाई छैन राहत
विश्वमा सुनको मूल्य उकालोे लागेसँगै त्यसको असर नेपाली बजारमा परेको छ । मूल्य बढेसँगै उपभोक्ताहरू मारमा परेका छन् । क्रयशक्ति कमजोर भइरहेका बेला सुन महँगिदा आम उपभोक्ताले सुन खरिद गर्न पाएका छैनन् ।

गत वर्ष कोरोनाका बेला सुनको मूल्य १ लाख नाघेको थियो । त्यसबेलाको तुलनामा अहिले भने केही घटेको छ । तर अहिले पनि सुनको मूल्य ९२ हजारभन्दा माथि पुगेको छ । आम उपभोक्ताको क्रयशक्तिमा आएको ह्रासका कारण उपभोक्ता सुन खरिद गर्न आकर्षित छैनन् ।

उकालो लाग्दै सुन
शुक्रबार नेपाली बजारमा सुनको मूल्य ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा आज सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९२ हजार ९०० रुपैयाँ कायम भएको हो ।

बिहीबार बजारमा छापावाला सुन पनि प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत प्रतितोला ५०० रुपैयाँले बढ्दै ९२ हजार ४०० रुपैयाँ कायम भएको छ ।

यता चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला चाँदी १ हजार २ सय ७० रहेको थियो । भने आज मूल्य बढी प्रतितोला १२ सय ८५ रुपैयाँ मूल्य कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?