…अनि त्रिपाल लिएर सडकमै बस्छौँ

साबिकको लालभोजी गाउँ विकास समितिले २०६८ मा बसाएको बस्ती हो कैलालीको भजनी नगरपालिका वडा नम्बर ५ पुलियापुर । नजिकै रहेको कान्द्रा नदी पछिल्लो आठ वर्षयता सोही बस्तीमा पस्ने गरेको छ । नदी बस्तीमा पसेपछि हरेक वर्षाको समयमा सो बस्तीका मानिस घरभन्दा पनि सडकमा त्रिपाल लगाएर बस्ने गरेका छन् ।

हुलाकी सडकको किनारामा लगाइएको त्रिपालमुनि थिइन् मातादेवी कामी । छोराछोरीसहित आठ जनाको परिवारसँगै त्रिपालमुनि बसिरहेकी उनले भन्दै थिइन, ‘अझै कति वर्ष यसरी सडकमै बस्नुपर्ने हो !’ उनले घरभित्र पाल्दै आएको बाख्रा, कुखुरा पनि त्यही पालमा आफूसँगै राखेकी थिइन् ।

सोही बस्तीका रतन कामी दुई सातादेखि घरभित्र गएका छैनन् । साबिकको गाउँ विकास समितिले उनलाई यहाँ बसायो । ‘सुरुवातका दुई वर्ष हामीले समस्या भोगेका थिएनौँ ।’, त्रिपालभित्रै ९ वर्षीय छोरी र श्रीमतीसँगै बसेका उनी भन्दै थिए, ‘अहिले वर्षामा घरभित्रै नदी पस्छ । पानीको सतह घटे पनि हिलाम्मे हुँदा बस्नसक्ने अवस्था छैन ।’

सो बस्तीमा दलित समुदायका १३ घरधुरी रहेका छन् । आफनो घर जाने बाटो देखाउँदै स्थानीय अमरबहादुर कामीले भने, ‘नदी यहाँ पस्थेन । पानी परेपछि अहिले यही बाटोबाट बग्छ । आवतजावत गर्न ट्युबको सहारा लिनुपर्छ ।’ घरभित्र रहेका अन्नपात, भान्सा सबै डुबानले बिगार्ने गरेको गुनासो उनले गरे ।

श्रीमातीसहित छ परिवार सदस्य रहेका अमरले घरखर्च चलाउनका लागि भारतमा रोजगार गर्नेगरेको बताए । उनले भने, ‘भारतमा कमाएको पैसा खाद्यान्नको जोहो गर्नमै सकिन्छ, छोराछोरीलाई विद्यालय कसरी पठाउने ? उनीहरूका लागि आवश्यक कापी, कलम, विद्यालयको पोसाकको व्यवस्था गर्न पनि समस्या हुनेगरेको छ ।’

उनले समस्या समाधानका लागि पटक–पटक राजनीतिक दल, सरोकारवालाहरूलाई गुनासो गर्दा समेत सम्बोधन नगरेकोप्रति आक्रोश व्यक्त गरे । अमरले भने, ‘हरेक वर्षामा हामी सडकमा बसेको देख्दा नेता, जनप्रतिनिधिहरू अवलोकन गर्न आउँछन् । समस्या समाधान गर्छु भनी आश्वासन दिन्छन् । तर, अर्को वर्ष फेरि हामी सडकमै त्रिपाल लगाएर बस्नुपर्ने अवस्था आउँछ ।’

भारत र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भएको हुलाकी सडकका कारण सो बस्ती डुबानमा पर्दै आएको छ । भजनी नगरपालिकाका शेरबहादुर चौधरी पनि हुलाकी सडककै कारण सो बस्ती डुबान पर्नेगरेको प्रतिक्रिया दिए । उनले भने, ‘हुलाकी सडकले ड्यामको जस्तो काम गरेको छ’ नगरप्रमुख चौधरीले भने, ‘वडा नम्बर ५ को पुलियापुर बस्ती मात्र नभई सोही वडाका हुलाकी सडकवारि र नगरपालिकाको वडा नम्बर ३ र ८ का अन्य बस्ती पनि डुबानले प्रभावित हुनेगरेको छ ।’

भजनी नगरपालिका भएर बग्ने मोहना, कान्द्रा, काडा र पथरिया नदिको बाढी पस्दा र नदिले कटान गर्न थालेपछि स्थानीयहरू प्रभावित हुनेगरेका छन । मोहना, कान्द्रा, काडा नदीले धार परिवर्तन गरी कटान गर्न थालेपछि कयौँ बस्ती जोखिममा पर्नुको साथै उनीहरू विस्थापित हुनपुगेको नगरप्रमुख चौधरीले बताए । ‘कान्द्रा नदीको कटान र पटानले स्थानीयको सयौँ बिघा जमिन बगर भइसकेको छ । नदी कटानले सयौँ परिवार घरबारविहीन भएका छन्’ उनले भने ।

स्थानीय अमरले नदीलाई बस्तीमा पस्न नदिन बृहत् तटबन्धनको कार्यक्रम ल्याउनुपर्ने माग गरे । उनले भने, ‘हुलाकी सडकले गर्दा पानी निकास सहज छैन । त्यसैले नदीलाई बस्तीमा पस्न नदिने गरी तटबन्धनको योजना ल्याउनुपर्छ । यसमा कसैले पहल गर्दैनन् ।’

उनले त्रिपालका सहारामा सडकमा बस्दा राति मच्छेरले टोक्ने, सर्प, कीरालगायतको त्रास हुनेगरेको बताए । भजनी नगरपालिकाले नदी नियन्त्रणको लागि सामान्य तटबन्ध बनाउनेबाहेक केही गर्न नसकेको उनले गुनासो गरे ।

 

‘यहाँ निकै ठूलो समस्या छ’, नगरपालिकाकी उपप्रमुख छाया देवकोटाले भनिन्, ‘समस्या समाधान हाम्रो एकल प्रयासबाट सम्भव छैन, हामीलाई प्रदेश र संघीय सरकारको पनि साथ चाहिन्छ ।’

काडा, पथरैया, मोहना र कन्द्रा नदीको संगम क्षेत्रका रूपमा रहेको भजनी नगरपालिकामा गत वर्षको साउन १४ मा आएको बाढीले हजारौँ घर डुबानमा परेका थिए । भजनी नगरपालिकाका तीन जनाको बाढीमा परी मृत्यु भएको थियो भने नौ हजार पाँच सय २१ घरधुरी प्रभावित भएका थिए । बाढी तथा डबानकै कारण दुई हजार नौ सय एक घरधुरी विस्थापित भएको जिल्ला प्रशासन कार्यालय कैलालीको तथ्यांकमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?