काठमाडौं । नेपाला धितोपत्र बोर्डले विभिन्न ५१ कम्पनीहरुमा भएको लगानी जोखिम भएको सार्वजनिक गरेपछि शेयर बजारमा देखिएको अस्वभाविक चलखेलमा ब्रेक लागेको छ ।
लामो समयदेखि विश्वासका साथ लगानी गर्दै आएका कम्पनीहरुमा नै जोखिम देखिएपछि लगानीकर्तामा त्रास फैलिएको हो । बोर्डले मंगलवार विभिन्न ५१ कम्पनीहरुले अस्वभाविक रुपमा मूल्य वृद्धि गरी शेयर बजारमा चलखेल गरेको निष्कर्ष निकाल्दै कारवाही गर्ने जनाएको छ ।
पछिल्लो समय शेयर बजारमा धेरै लगानीकर्ता छिरेका छन् । जसलाई कुन कम्पनीको शेयर खरिद गर्दा लाभ हुन्छ अथवा कुन कम्पनीको शेयर किन्दा घाटा हुन्छ भन्ने सामान्य जानकारी पनि हुँदैन । बजारमा रहेका जुनसुकै कम्पनीका शेयर पनि लगानीकर्ताले किनिरहेका हुन्छन् । त्यस्ता लगानीकर्ता अब अलमलमा परेका छन् । तर साथै उयनीहरुले बोर्डको यो निर्णयले हल्लाको पछाडि लागेर शेयर खरिद वा विक्री गर्नु हुदैन रहेछ भन्ने शिक्षा पनि दिएको छ ।
“अब कस्ता कम्पनीमा लगानी गर्ने अथवा लगानी नै नगर्ने भन्ने अलमलको मनस्थितीमा लगानीकर्ता छन्” इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार बताउँछन् । ‘ बोर्डको कदमले लगानीकर्ताहरु डराए ।’ उनले भने । बोर्डले अभिभावकिय भूमिका निभाए पनि बेलैमा कार्वाही नगर्दा समस्या आउन सक्ने रौनियार बताउँछन । “कारोबार गर्दा ‘कर्नरिङ’ भयो भनिएको छ । तर कारोबार त लाइभमा हुन्छ । लाइभमा सबै कुरा स्पष्ट हुँदा त्यसै बेला कमी कमजोरी पत्ता लगाई कारवाही गर्नुपथ्र्याे,” रौनियार भन्छन,“तर बोर्डले त्यसो नगरेर कम्पनीहरुकै नाम सार्वजनिक गर्दा लगानीकर्ता हतोत्साहित भए ।” ।
नियामक निकायले नै यतिका धेरै कम्पनीहरुको सूची सार्वजनिक गर्नुले अब लगानीकर्ताले कहाँ र कस्ता कम्पनीमा लगानी गर्ने भन्ने अन्योल बढ्नुका साथै लगानी डुब्ने हो कि भन्ने त्रास फैलिएको रौनियारको ठहर छ ।

पछिल्लो समय शेयर बजारमा थुप्रै नयाँ लगानीकर्ता भित्रिएका छन् । अहिले शेयर बजारमा लगानीकर्ताको संख्या ४० लाखको हाराहारी पुगिसेको छ । यति धेरै लगानीकर्ताको लगानीमाथि तुषारापात भएको नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल बताउँछिन् । “बोर्डले कम्पनीको नाम सार्वजनिक गरेर लगानीकर्ताको खर्बौ लगानीमाथि आघात गरेको छ,” अध्यक्ष पोखरेलले भनिन ।
पछिल्लो समय बजार भित्रिएका विद्यार्थी, गृहिणी,लगानीकर्ता सबैको मनोबलमाथि पनि आघात भएको उनको ठहर छ । लगानीकर्ता संघ तथा संगठनहरुले पनि बोर्डले गरेको निर्णयको विरोध गर्दै निर्णय सच्याउन माग गरेका छन् ।
तर यसको अर्थ के शेयर बजारमा अस्वाभाविक चलखेल गरेर कम्पनीहरुले लगानीकर्ताको लगानी जोखिममा पार्ने छुट पाउन सक्छन ? जवाफ हो,सक्दैन,पाउदैन । यसैले नियामक निकाय धितोपत्र बोर्डले आफ्नो जिम्मेवारीभित्रको काम गर्यो ।
गाउँ गाउँबाट सर्वसाधारणले गरेको लगानीको सुरक्षा गरेको बोर्डको जिकिर छ । “हामीले साना साना लगानीकर्ताको लगानी सुरक्षित गर्न यस्तो निर्णय गरेका हौं,” बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले भने ।
नियामकले गलत गर्नेलाई गलत गरिस् भनेर त्यसलाई सच्याउने अधिकार राख्ने बोर्डले जनाएको छ । लगानीकर्ताका नाममा यकाध विरोध हुनु स्वभाविक भएको र उनीहरुको विरोधले आम लगानीकर्तालाई भलो नगर्ने अध्यक्ष ढुंगानाको भनाई छ ।
कम्पनीको पृष्ठभूमि कमजोर भएका कम्पनीहरुको शेयर मूल्य बलिया कम्पनीहरुको शेयर मूल्यभन्दा बढी भएको र दुई-तीन दिनको अन्तरालमा मूल्यले आकाश छुन लागेपछि बोर्डले अध्ययन सुरु गरेको उनले बताए । बोर्डले कहाँ कहाँ चलखेल भइरहेको छ भनेर अध्ययन गरिरहेको अध्यक्ष ढुंगानाको भनाई छ ।
नियमित रुपमा जागा रहेर नियामक निकाय बोर्डले शेयर बजारमा तिखो नजर राखिरहने हो भने शेयर बजारमा अस्वभाविक चलखेल गर्ने बदमाश कम्पनीहरु आफै किनारा लाग्दै जान्छन । अनि त लगानीकर्ताको लगानी पनि जोखिममा पर्ने सम्भावना हुदैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया