निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ७ सय सवारी प्रहरी नियन्त्रणमा

लोकपथ
112
Shares

काठमाडौं । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ७ सय २० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तीमध्ये १ हजार ३० वटा गाडी र १ हजार ६ सय ९० वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ ।

साथै नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ६ सय ९७ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने ३ सय १५ जनालाई कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम ९१ हजार ४ सय रुपैयाँ जरिवाना गरिएको छ । साथै ३ हजार ३ सय २४ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ ।

साथै देशभर सञ्चालित ८९ वटा माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत ७ हजार ३ सय ५३ जनालाई सचेत गराइएको छ ।

निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?