एमाले एकताको वातावरण धुमिल बनेको छ : ईश्वर पोखरेल

लोकपथ
105
Shares

काठमाडौं । नेकपा(एमाले)का महासचिव ईश्वर पोखरेलले एमाले एकताको वातावरण धुमिल भएको बताएका छन् ।

बिहीवार राति सामाजिक सञ्जाल फेसबुकमार्फत् लामो स्टाटस लेख्दै महासचिव पोखरेलले बिहीवार भएको राष्ट्रिय सभाको उपनिर्वाचनमा निकृष्ट र अक्षम्य हर्कतहरु देखिएको भन्दै त्यस्तो अराजक कृत्यका कारण नेकपा(एमाले) भित्र बनिरहेको एकताको वातावरण धुमिल बनेको बताएका हुन् ।

बिहीवार भएको भएको राष्ट्रिय सभाको उपनिर्वाचनमा नेकपा(एमाले)को तर्फबाट उम्मेदवार बनेका रामबहादुर थापा पराजित भएका थिए भने नेपाली कांग्रेस तथा नेकपा(माओवादी केन्द्र)को तर्फबाट साझा उम्मेदवार डा. खिमलाल देवकोटा विजयी भएका थिए । एमालेको माधव नेपाल समुहले पनि खिमलाल भट्टराईलाई मतदान गरेको हो । यसै सन्दर्भमा पोखरेलले पार्टीका विरुद्धमा अपराधपूर्ण काम भएको भन्दै यसबाट पार्टी विधान, पद्दति, प्रक्रिया, नीति, निर्णय र निर्देशनको वकालत गर्दै भइरहेका नाटक मञ्चनको मुकुण्डो उदांगो भएको पनि उल्लेख गरे ।

‘राष्ट्रिय सभाका लागि आज भएको उपनिर्वाचनमा देखिएका हर्कतहरु अत्यन्तै निष्कृष्ट र अक्षम्य छन् । यस खाले अराजक कृत्यले नेकपा ( एमाले) भित्र बनिरहेको एकताको वातावरण धुमिल बनाइदिएको छ ।’ उनले भने, ‘पार्टी विरूद्धमा आज गरिएका यी अपराधपूर्ण कामले पार्टी विधान, पद्दति, प्रक्रिया, नीति, निर्णय र निर्देशनको वकालत गर्दै भइरहेका नाटक मञ्चनको मुकुण्डो पनि उदांगो भएको छ ।’

पोखरेलले पार्टी अध्यक्षलाई विश्वासको मत नदिने, कर्णालीमा फ्लोर क्रस गर्ने र पार्टीको उम्मेदवारलाई हराउन गोटी बनि भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने कार्य कम्युनिष्ट आन्दोलन र संसदीय/लोकतान्त्रिक आन्दोलनका लागि लज्जास्पद विषय भएको पनि बताए ।

उपनिर्वाचनले एमाले विरोधी महागठबन्धनका बाबजुद नेकपा (एमाले) एक्लै चुनौतीको सामना गर्न सक्षम छ भन्ने कुरा स्पष्ट भएको पनि उनको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?