चौरासी पुजाको निम्ता मान्न गएकाहरुबाट च्याङथापूमा फैलियो कोरोना

RSS
63
Shares

पाँचथर । जिल्लाको सदरमुकाम फिदिमबाट करिब ७० किलोमिटर उत्तरपूर्वमा रहेको याङवरक गाउँपालिका–१ च्याङथापूमा सोमवार आठ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भयो ।

यो सुदूर गाउँमा एक वृद्धको चौरासीको पूजामा झापामा रहेका आफन्तलाई निम्ता गरिएको थियो । निम्ता मान्न आएका आफन्तसँगको सम्पर्कले उक्त गाउँमा संक्रमण फैलिएको पाइएको हो । वैशाख ११ गते पाँचथरका एक वृद्धको चौरासीको पूजाका लागि झापाबाट वृद्धका दुई आफन्त साविक च्याङथापू गाविस–१ नाम्रेक आएका थिए ।

याङवरक गाउँपालिका–१ का वडाध्यक्ष मोहनकुमार ढुङ्गेलका अनुसार चौरासीको पूजा सबैले खुशीसाथ मनाए । भोलिपल्टबाट आ–आफ्नो बाटो लाग्न थाले । पूजाको आयोजना गरेका स्थानीयवासी र झापा फर्किसकेका आफन्त सबैमा कोभिड–१९ सँग मिल्ने लक्षण देखिएपछि परीक्षण गराइयो । “उहाँहरु तल (झापा) झरेर परीक्षण गराउँदा कोभिड–१९ को रिपोर्ट पोजेटिभ देखियो”, वडाध्यक्ष ढुङ्गेलले भने, “पाहुना आएकाहरुमा संक्रमण देखिएपछि यहाँका आफन्तलाई बाहिरफेर ननिस्कन भनेका थियौँ । हिजो एन्टिजेन परीक्षण गर्दा आठ जनामा संक्रमण पुष्टि भयो ।”

उक्त गाउँका संक्रमितलाई ज्वरो आइरहेको र होमआइसोलेसनमा बस्न भनिएको वडाध्यक्ष ढुङ्गेलले बताए । “गाउँपालिका अध्यक्षसँग परामर्श गरेर कसरी राख्ने भन्ने निक्यौल गर्छौँ”, उनले भने । चौरासीको पूजा लगाएका ८४ वर्षीय वृद्धलाई स्वास्थ्य समस्या बढी भएको पाइएको वडाध्यक्ष ढुङ्गेलले बताए । “पूजा लगाउने व्यक्तिले श्वास फेर्न समस्या भएको बताउनुभएकाले अस्पताल लैजाने तयारी गरेका छौँ”, ढुङ्गेलले भने।

यता सदरमुकाम फिदिममा सोमवार १५ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा कोभिड–१९ संक्रमण भेटिएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले जानकारी दिए । आइतवार फिदिममै एक कर्मचारी र एक सैनिकमा सङ्क्रमण भेटिएको थियो । आज बिहानसम्म जिल्लामा कूल संक्रमितको संख्या ११ पुगेको सुवेदीको भनाइ छ ।

जिल्लाका अरु पनि सङ्क्रमित भए पनि बाहिर, निजी प्रयोगशालामा परीक्षण गराएकाहरुको रेकर्ड स्वास्थ्य कार्यालयसँग नहुने सुवेदीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?