ताप्लेजुङमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु, कति पुगे सक्रिय संक्रमित ?

RSS
91
Shares

ताप्लेजुङ । ताप्लेजुङमा कोभिड–१९ को संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।

फुङ्लिङ नगरपालिका–४ क्याम्पस लाइन निवासी एक पुरुष र वृद्धा महिलाको संक्रमणका कारण मृत्यु भएको हो ।

प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका ६० वर्षीय पुरुषको शनिवार दिउँसो मृत्यु भएको हो । कोरोना संक्रमण भएपछि केही दिनअघिदेखि प्रतिष्ठानमा भेन्टिलेटरमा राखेर उनको उपचार गराइँदै आएको थियो ।

यस्तै, शुक्रवार राति ८५ वर्षीया वृद्धाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । लामो समयदेखि मुटुरोगबाट ग्रसित वृद्धालाई झापास्थित बिर्तासिटी अस्पतालमा उपचार गराएर शुक्रवार घर फर्काइएको थियो । घर फर्काएकै दिन राति वृद्धाको मृत्यु भएको परिवारका आफन्तले आफूलाई जानकारी गराएको प्रजिअ पाण्डेले बताए।

पाण्डेका अनुसार ती वृद्धाको एन्टीजेन परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो ।

यता मृतक वृद्धाको दाहसंस्कार भने परिवार आफैँले गरेका छन् । परिवारले नै शनिबार दाहसंस्कार गरेका र दाहसंस्कारमा संलग्न परिवारका चारजना सदस्यलाई चार थान व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) उपलब्ध गराइएको थियो । जनस्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर शवको अन्त्येष्टि गर्न मृतकका आफन्तलाई सुझाव दिएको प्रजिअ पाण्डेले बताए ।

यसअघि फुङ्लिङ नगरपालिका–६ कोठेबारीका ५२ वर्षीय एक पुरुषको कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो । ती पुरुषको भने नेपाली सेनाले अन्त्येष्टि गरेका थिए । हाल ताप्लेजुङमा २१ जना सक्रिय संक्रमित रहेका जिल्ला अस्पतालका डाक्टर सोनिङ लामाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?