मकवानपुर । मकवानपुरको भीमफेदी–कुलेखानी सडकखण्डमा पर्ने सिस्नेरी–दक्षिणकाली–काठमाडौं जोड्ने सडक आज शुक्रवार बिहानैदेखि काठमाडौँ–हेटौँडातर्फको यातायात सञ्चालनमा रोक लगाइएको बागमती प्रदेश यातायात पूर्वाधार निर्देशनालयले हेटौंडाले जनाएको छ ।
भीमफेदी–कुलेखानी हुँदै काठमाडौं जाने यातायत अवरुद्ध हुँदा आज बिहानैदेखि त्रिभुवन राजपथबाट हेटौंडा–काठमाडौंतर्फको हलुका यातायात सेवा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । उनले निजी कार, जिप र मोटरसाइकललाई मात्र कान्तिराजपथ हुँदै काठमाडौंतर्फ जाने रुटलाई अनुमति दिइएको र आज बिहानैदेखि ती क्षेत्रबाट सामान्य यातायात काठमाडौंतर्फ प्रस्थान गरेको उल्लेख गरे ।
मदन भण्डारी राजमार्गअन्तर्गत रहेको सिस्नेरी सडकखण्डको काठमाडौंको छैमलेबाट मकवानपुरको हेबीसम्म निर्माणाधीन सडकमा अहिले कालोपत्र गर्नुपरेका कारण काठमाडौं–हेटौँडातर्फ दैनिक यातायात सेवालाई आजदेखि आगामी जेठ २५ गतेसम्म सञ्चालनमा रोक लगाइएको बागमती प्रदेश यातायात पूर्वाधार निर्देशनालयका प्रमुख डा सहदेव भण्डारीले बताए ।
उनका अनुसार भीमफेदी–कुलेखानी सडकखण्डको फाखेल सडकको ढल निर्माण, सडकमा कालोपत्र गर्ने क्रममा केही हप्ताअघिदेखि फाखेल सडकखण्डबाट काठमाडौंतर्फको यातायात सेवालाई एक महिनासम्मका लागि रोक लगाइएको थियो । बागमती प्रदेश, भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले भीमफेदीबाट चिसापानीगढी र हेबीसम्मको सडक विस्तार र कालोपत्र गर्न दुई चरणमा गरी ३४ करोड रकम विनियोजित गरिएको सो मन्त्रालयका प्रशासकीय अधिकृत हरिप्रसाद उप्रेतीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया