लहरो तान्दा पहरो : नक्कली नोट लिएर तरकारी बजार पुगेपछि खुल्यो गिरोहको पोल

काठमाडौं । नक्कली नोटसहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा मकवानपुर घर भइ हाल काठमाडौं बाफल बस्दै आएकी ३९ वर्षीया माया तामाङ र रौतहट घर भइ हाल काठमाडौं कीर्तिपुर बस्दै आएको ३५ वर्षीय गन बहादुर लोप्चान रहेका छन् ।

तामाङ बुधवार राति साढे ८ बजेतिर कालिमाटीस्थित फुटपाथमा नक्कली नोटलिएर तरकारी किन्न गएकी थिइन् । तरकारी पसलेलाई तामाङले दिएको नोटप्रति शंका लागेपछि प्रहरी वृत्त कालिमाटीलाई खबर गरेका थिए । .प्रहरी बृत्त कालिमाटीबाट खटिएको टोलीले अनुसन्धान गर्दा नक्कली नोट पाइएको र उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश कुमार बस्नेतले जानकारी दिए ।

प्रवक्ता बस्नेतका अनुसार अनुसन्धानको क्रममा तामाङको साथबाट ९ थान ५०० दरको जाली नोट फेला पारेको थियो ।

तामाङले दिएको बयानको आधारमा कीर्तिपुर बस्ने लोप्चनको कोठाबाट विभिन्न दरका नोटहरुसहित प्रिन्टर मेसिन र अन्य सामानहरु समेत बरामद भएको छ ।

प्रवक्ता बस्नेतका अनुसार लोप्चनको कोठाबाट १००० को दरको ५१ थान, ५०० को दरको ५७ थान, १०० को दरको २ थान नोटहरु बरामद गरिएको छ । त्यस्तै प्रिन्टर मेसिन १ थान, फोटो कपी पेपर, पेपर कटर थान १, स्केल थान १ मोबाईल थान २, ल्यापटप थान १, प्रिन्टर मसि थान ४ लगायतका पैसा र सामाग्रीहरु बरामद गरिएको छ ।

पक्राउ परेका दुवै जनाको विषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?