काठमाडौं – सत्ता समीकरणको साँचो अहिले जनता समाजवादी पार्टी (जसपा) को हातमा पुगेको छ ।
गत फागुन २३ गते सर्वोच्च अदालतले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपा को एकतामा प्रश्न उठाउँदै नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा ब्यूँताइदिएपछि प्रधानमन्त्री केपी शर्मा ओली संकटमा परेका छन्।
माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिनेबित्तिकै प्रधानमन्त्री ओली अल्पमतमा पर्नेछन् उनले ३० दिन भित्र विश्वासको मत लिनुपर्ने हुन्छ । अहिलेको सरकार एमाले र माओवादी केन्द्रको गठबन्धन सरकार हो ।
ओलीलाई सत्ताबाट विस्थापित गर्न नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाबीचको सरकार बन्न पनि सक्छ । यो अवस्थामा जसपा, सरकार र प्रतिपक्ष दलको तानातानमा परेको छ । नेकपा एमालेका संसदमा १ सय २१ जना सांसद छन्। सरकार बनाउनका लागि १ सय ३८ सांसद चाहिन्छ। माओवादीले समर्थन फिर्ता लिएमा ओलीलाई सरकार टिकाइरहन १७ जना सांसद आवश्यक हुन्छ । त्यस्तै संसदमा कांग्रेसको ६३, माओवादी केन्द्रको ५३, जनता समाजवादी पार्टीको ३४ सिट छ । यीमध्ये कांग्रेसका २ र जनता समाजवादी पार्टीका दुई सांसद निलम्बित छन् । त्यो बाहेक र राष्ट्रिय जनमोर्चाको १, राष्ट्रिय प्रजातन्त्र पार्टीको १ र नेपाल मजदुर किसान पार्टीको १ सिट छ ।
माओवादी केन्द्रले समर्थन फिर्ता लिएमा प्रधानमन्त्री ओलीलाई पदमा रहिरहन १७ सांसद अपुग हुँदा, यता कांग्रेस माओवादी र जसपा मिल्यो भने सांसद संख्या १ सय ५० पुग्छ । यी तीन दलको संख्याले प्रधानमन्त्री हटाउन र नयाँ बनाउन पर्याप्त हुन्छ । तर यो समिकरण यति सजिलै बनिहाल्ने सम्भावना देखिएको छैन ।
यसैमा जसपाको हातमा सत्ता समीकरणको साँचो रहेको छ । त्यसकारण जसमा सरकार र प्रतिपक्षी दलको तानातानमा छ । माओवादी केन्द्र जसरी पनि ओलीको सत्ताबाट बहिर्गमन चाहिरहेको छ । जसपा जता गयो उतै बहुमत पुग्ने अवस्था छ । तर जसपामा ओलीलाइ समर्थन गर्नुपर्छ भन्ने एउटा पक्ष छ भने अर्को पक्ष कुनै पनि हालतमा ओलीलाइ समर्थन नगरी कांग्रेस र माओवादीसंग मिल्नुपर्छ भन्ने पक्षमा छ । जसका कारण जसपामा आन्तरिक विबाद छ।
विवादकै कारण रोकियो कार्यकारिणी समिति बैठक
सत्ता समीकरणमा नेपाली कांग्रेस-माओवादी केन्द्रलाई सहयोग गर्ने कि एमालेलाई सहयोग गर्ने भन्ने विषयमा विवाद भइरहेका बेला बिहिवार जसपा कार्यकारिणी समितिको बैठक बोलाइएको थियो । तर अन्तिममा स्थगित हुनपुग्यो । खासगरी जसपामा नेता राजेन्द्र महतो पक्ष ओलीलाई समर्थन गर्ने पक्षमा छन् भने नेता उपेन्द्र यादव र डा बाबुराम भट्टराई पक्ष कुनै पनि हालतमा ओलीलाई सर्थन गर्न नहुने पक्षमा छन् । बिहिबारको बैठक बसेको भए जसपा फुट्न पनि सक्थ्यो भन्ने कतिपयको बुझाई छ । बैठक स्थगितले जसपामा दुर्घटना टरेको छ। कार्यकारिणी बैठक अब चैत १५ गते सम्मलाई स्थगित भएको छ ।
दवाबमा जसपा
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर प्रतिगमन गरेको भन्दै त्यसको विरोधमा जसपाले आन्दोलन गरेको थियो । यस्तो अवस्थामा ओलीलाई समर्थन कि कांग्रेस –माओवादीलाई समर्थन भन्ने आन्तरिक र बाह्य दवाबमा जसपा रहेको जसपा श्रोतको दाबी छ ।
सरकारमा जान जसपाको माग
सत्ता समीकरणको साँचो आफ्नो हातमा रहेकोले हौसिएको जसपा आफूले प्रधानमन्त्री पाउनुपर्ने बताउन थालेको छ । उसले थुनामा रहेका सांसद रेशम चौधरी लगायतका नेता कार्यकर्ता रिहाइ गर्नुपर्ने माग राखेको छ। जसले आफ्ना माग पूरा गर्छ त्यसैलाई समर्थन गर्ने बताउँदै आएको छ । यस अघि पनि प्रधानमन्त्री ओलीले माग पूरा गर्ने प्रतिवद्धता जनाएको भन्दै तत्कालीन राजपाले ओलीलाई समर्थन गरेको थियो । तर माग पूरा नभएपछि उसले समर्थन फिर्ता लिएको थियो।
प्रधानमन्त्री ओलीको दाउ !
एमालेको आन्तरिक विवादमा फसेका प्रधानमन्त्री ओली माओवादी केन्द्रले समर्थन फिर्ता लिएमा जसपालाई हातमा लिएर सरकार जोगाउने दाउमा छन्। सकेसम्म जसपाको समर्थन लिने नभए जसपाभित्रको तत्कालीन राष्ट्रिय जनता पार्टी राजपा पक्षका नेता महतो लगायतलाई फूटाउने योजनामा रहेको कतिपयको विश्लेषण छ । जसपा देश र जनतामा मुद्धा भन्दा पनि आफूलाई जता लाग्दा फाइदा हुन्छ त्यतैतिर समर्थन गर्ने रणनीतिमा रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया