टेकसिँह धामी/ धनगढी । बझाङको बित्थडचिर गाउँपालिका ४ देउलेख स्थित देवश्वरी माध्यमिक विद्यालयमा कृषि बाली विज्ञान अध्ययनरत विद्यार्थीहरुले च्याउ खेति शुरु गरेका छन । कृषि बाली विज्ञान अध्ययनरत विद्यार्थीहरुले सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञान पनि हासिल गर्न च्याउखेती शुरु गरेका हुन ।
बित्थडचिरमा प्राविधिक शिक्षा अध्ययन गर्दै आएका विद्यार्थीहरुले व्यावहारिक ज्ञान लिन च्याउखेती, तरकारी खेती गर्न थालेका छन् । विद्यार्थीहरुलाई अध्ययनसंगै व्यावहारिक ज्ञान दिन च्याउखेति शुरु गरेको प्रशिक्षक नरेश विष्टले बताए । स्रोत साधनका अभावका बाबजुद पनि आफुहरु विद्यार्थीलाई सीप सिकाउन लागिपरेको उनले बताए ।
अध्ययनरत विद्यार्थीहरुलाई च्याउखेती मात्रै नभएर तरकारी खेती , फलफुल खेती, नगदेबाली लगायतका बिषयमा व्यावहारिक अध्यन सहित अध्यापन गराउदै आएको उनले बताए ।
यस्तै कृषि कार्यक्रम संयोजक दिनेश बोहराले च्याउले उत्पादनले राम्रो बजार पाउने र अध्ययनपछि विद्यार्थीहरु स्वरोजगार बन्न ठूलो सहयोग पुग्ने बताए । बजार पाएमा च्याउ खेतीबाट मनग्य आम्दानी हुने उनी बताउँछन।
विद्यार्थीहरुले च्याउ खेतीको लागि टनेल तयार गरि पहिलो पटक डेढ सय पोकामा बिउ राखेको उनले बताए । देवेश्वरी माविमा प्राविधिक शिक्षातर्फ १८ महिने कृषि जेटिए पठनपाठन हुने गरेको छ । झण्डै ३५ जना विद्यार्थी अध्ययन गरीरहेका छन ।
विद्यार्थीहरुले उत्पादन गरेको च्याउको बजारमा पर्याप्त माग रहेकोले स्थानिय बजारमा कम खपत हुने स्थानिय युवा गोविन्द ढाटले बताए । उनले स्थानीयस्तरमै गरेको च्याउ खेती नयाँ प्रविधि भएको बताउदै अध्ययनपछि विद्यार्थीहरुले सीप सदुपयोग गर्नुपर्ने बताए ।
साथै यसरी कृषि बिषय अध्ययन गर्ने विद्यार्थीहरुलाई स्वरोजगार बनाउन स्थानीय सरकारले प्राथमिकता दिनुपर्ने स्थानिय योगेन्द्र बोहराले बताए । उनले स्थानीय सरकारले प्राविधिक अध्ययन गरेका बिद्यार्थीलाई व्यवसायी बनाउन पहल चाल्नुपर्ने धारणा राखे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया