बाटैबाट फर्किए बालुवाटार बैठकमा हिँडेका नेपाल-खनाल पक्षका सांसद

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा भाग लिन हिँडेका एमाले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका सांसदहरु बाटैबाट फर्किएका छन् ।

संसदीय दलका नेता समेत रहेका ओलीले बिहीवार(आज) बिहानका लागि संसदीय दलको बैठक बोलाएका थिए । बिहान आफू निकटका सांसदहरुसँग छलफलपछि नेपाल-खनाल पक्षले स्थायी कमिटी सदस्य बाहेकका सांसदहरुलाई बालुवाटार बैठकमा उपस्थित हुन आग्रह गरेको थियो । त्यसैअनुसार बालुवाटार हिँडेका सांसदहरु ध्रुब शाही, गणेश पहाडी, कृष्णभक्त पोखरेल, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ लगायत बाटैबाट फर्किएका हुन् ।

आज पनि सानेपा हाइटस्थित हेरिटेज होटलमा नेपाल-खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला चलिरहेको छ । उक्त भेलामा उपस्थित हुनुपर्ने भएकाले पुनः बाटैबाट सांसदहरुलाई बोलाइएको बताइएको छ । बाटोबाट फर्किएका सांसदहरु अहिले राष्ट्रिय कार्यकर्ता भेलामा सहभागी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?