नेपाल पक्षको भेलाको विरोध गर्दै प्रधानमन्त्रीले भने, ‘२५ प्रतिशत जति साथीहरु त्यहाँ मैले पठाइदिएको छु’

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई फुर्क्याउन आफूले धेरै गरेको बताएका छन् ।

‘प्रचण्डजी फुर्के मान्छे हुन् । अध्यक्ष हुँदै हुनुहुन्थ्यो, प्रधानमन्त्री पद जिम्मा लगाएर ल तपाईं नै चलाउनुस् भनेर फुर्क्याइदिएको भए उहाँ मान्नुहुन्थ्यो’, ओलीले बुधवार एक अन्तरवार्ताका क्रममा भने, ‘फुर्क्याउन त कति हो कति हो मैले त, सुमधुर बाँसुरी बजाएर, सितार गितारका धुन सुनाएर के गरेर.. फुर्क्याइन होला ?’

तर प्रधानमन्त्री पद नदिँदा उनी नफक्किएको ओलीले दाबी गरे । ‘मलाई त आमाले पनि फुर्के भन्नुहुन्थ्यो । म त फुर्क्याइदिए फुर्किन्छु नि, मलाई प्रधानमन्त्री दिएर फुर्क्याइदिनुस् न भन्ने’, उनले प्रचण्डले आफूसँग पदको बार्गेनिङ गरेको भन्दै अन्तरवार्ताका क्रममा आक्रोश पोखे ।

उनले माधव नेपाल समूहसँग विगतमा भएको कुरा बिर्सन सकिने भएपनि अहिले भइरहेका राष्ट्रिय भेला लगायतका गतिविधि भने बिर्सन नसकिने बताए । नेपाल समूहले बोलाएको राष्ट्रिय भेलाको पटक पटक विरोध गरेका उनले भेलामा आफूले पनि आफ्नो मान्छे पठाएको दाबी गरे ।

उनले भने, ‘२५ प्रतिशत जति साथीहरु त्यहाँ मैले पठाइदिएको छु । छन् त्यहाँ भेलामा । मसँग राम्रो अन्डरस्ट्यान्डिङ भएका साथीहरु मसँग सल्लाह गरेरै गएका छन् । अलि पछि थाहा पाउनुहुन्छ माधव नेपालले ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?