शीतल निवासमा ओलीले गरे फेरि विघटनको कुरा, प्रचण्डले दिए यस्तो जवाफ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि प्रतिनिधिसभा विघटन हुन सक्ने बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको सर्वदलीय बैठकमा ओलीले यस्तो बताएका हुन् ।

मंगलवार साँझ मुलुकको समसामयिक परिस्थिति तथा राष्ट्रिय सरोकारका विषयमा छलफल भन्दै भण्डारीले बोलाएको बैठकमा ओलीले विघटनको कुरा गरेका हुन् ।

बैठकको शुरुमा राष्ट्रपतिले सर्वदलीय बैठकबारे जानकारी गराउँदै शिक्षा स्वास्थ्य र मौसम परिवर्तनका कुरा गरेकी थिइन् । त्यसपछि प्रधानमन्त्री ओलीले बोल्दै प्रतिनिधि सभा विघटन गर्नु जायज रहेको बताए । अदालतको फैसलाले प्रतिनिधि सभा पुर्नस्थापना भएकाले अव संसद चलाउनुपर्ने बताएका थिए ।

ओली पछि काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल अहिले बैठक बोलाउनुको औचित्य नभएको बताएका थिए । उनले भने, ‘यस्तो खालको संवाद गर्नु राम्रै हो । तर यस्तो राय संसद विघटन गर्नु अघि किन लिइएन ?’

यस्तै बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालतले गरेको फैसलालाई ठिक बेठिक भन्ने र संसद विघटनको पक्ष विपक्षमा तर्क गर्न आफुहरु शितलनिवासमा उपस्थित नभएको बताएका थिए ।

छलफलमा नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा जनता समाजवादी पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव तथा नेता राजेन्द्र महतो उपस्थित थिए ।

एमालेका तर्फबाट रामबहादुर थापा, ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, कांग्रेसका तर्फबाट रामचन्द्र पौडेल, विमलेन्द्र निधि, डा शशाङ्क कोइराला र माओवादी केन्द्रका तर्फबाट नारायणकाजी श्रेष्ठ र देवप्रसाद गुरुङको उपस्थिति रहेको थियो ।

यसैगरी, छलफलमा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीको पनि सहभागिता थियो । र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेता जनकराज शर्मा तथा नेपाल मजदूर किसान पार्टीका नेता प्रेम सुवालको पनि उपस्थिति थियो । तर पूर्वप्रमहरु माधव कुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई भने सहभागी भएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?