भारतमा कोरोनाविरुद्धको दुवै डोज खोप लगाएका दुई जनामा कोरोना पुष्टि

काठमाडौं । भारतको महाराष्ट्रमा कोरोना भाइरसविरुद्धको दुवै डोज खोप लगाएका दुई जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । महाराष्ट्रको जालनामा सरकारी अस्पतालमा कार्यरत कर्मचारीहरुमा खोपको दुवै डोज लगाएपछि पनि कोरोना पोजेटिभ पुष्टि भएको हो ।

कोरोनाको खोप लिएको केही दिनपछि दुवैमा हल्का लक्षण देखिएको र नमूना परीक्षण गर्दा दुवैको रिपोर्ट पोजेटिभ आएको थियो । अहिले उनीहरुमा कोरोनाको लक्षण भने निकै कम भएको भारतीय सञ्चार माध्यामहरुले जनाएका छन् । खोप लगाएपछि पनि मास्क लगाइरहन र सबै प्रकारका नियमहरु पालना गर्न चिकित्सकहरुले आग्रह गरेका छन् ।

हाल भारतमा लगातार रुपमा कोरोना संक्रमितको संख्यामा बृद्धि भइरहेको छ । पछिल्लो २४ घण्टामा २३ हजार २९८ जनामा संक्रमण पुष्टि भएको छ भने १५ हजार ०७२ जना निको भएका छन् । भारतमा यतिबेला खोप अभियानको दोस्रो चरण जारी छ । अहिले ६० वर्षभन्दा माथिका व्यक्तिलाई खोप लगाईंदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?