किन भयो कैलालीमा ओली र नेपाल समूहबीच झडप ?

धनगढी/टेकसिँह धामी सर्वोच्च अदालतले नेकपा(एमाले) र माओवादी केन्द्र ब्युँताएपछि देशभर पार्टी कार्यालयको नाम परिवर्तन तथा स्थापना गर्ने कार्य तिब्र छ । पार्टी कार्यालय स्थापना गर्न माओवादी केन्द्रभन्दा एमाले अगाडि देखिन्छ । एमालेमा पनि ओली समर्थित नेता कार्यकर्ता बढी हौसिएका छन् ।

सुदूरपश्चिमका सबै जस्तो जिल्लामा मंगलवार नै एमाले कार्यालय स्थापना तथा नाम परिर्वतन सम्पन्न भएको छ । यस्तै प्रदेशको स्थायी मुकाम धनगढीमा रहेको पार्टीको कार्यालयमा ओली पक्षका नेता कर्णबहादुर थापाकै सहभागितामा नेपाल कम्युनिष्ट पार्टी एमाले लेखिएको ब्यानर टाँगिएको थियो । उनी पार्टी एक हुनुभन्दा पहिले एमालेमा प्रदेशको उप–संयोजक भूमिकामा थिए । पार्टी एक भएपछि उनी प्रदेश अध्यक्षको भूमिकामा थिए ।

प्रदेशका सबै जिल्लामा एमालेले पार्टी कार्यालय उद्घाटन गरिसकेपछि बुधवार प्रदेश पार्टी कार्यालय पनि सञ्चालनमा ल्याउने उनीहरूको तयारी थियो । पार्टी कार्यालय उद्घाटन गर्ने क्रममा एमालेमा देखिएका दुई पक्ष माधव र ओली समर्थित नेता कार्यकर्तामा समन्वय हुन सकेको छैन । कैलाली पार्टी कार्यालय पनि ओली समर्थित नेता कार्यकर्ताकै सहभागितामा सञ्चालमा ल्याइएको थियो । माधव समर्थित ढिलो गरी त्यहाँ पुगेका थिए । सुदूरपश्चिम प्रदेश कार्यालय सञ्चालमा भने बुधवार माधव समर्थित नेता कार्यकर्ताहरू अगाडि पुगे ।

उनीहरूले नेपाल कम्युनिस्ट पार्टी (एमाले) लेखिएको ब्यानर टाँग्दै पार्टी कार्यलय सञ्चालमा आएको सामाजिक सञ्जालमा सार्वजनिक गरे । उनीहरूले सार्वजनिक गरे लगत्तै ओली समर्थित नेता कर्णबहादुर थापाको नेतृत्वमा एक टोली त्यहाँ पुग्यो । उनी बिहान ११ बजे प्रदेश पार्टी कार्यालयमा पुगेका थिए । उनी त्यहाँ पुग्दा गेट बन्द थियो । कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टको नेतृत्वमा सुरक्षाकर्मी खटिएका थिए ।

थापा पार्टी कार्यालय पुग्दा उनलाई प्रहरीले रोक्न खोज्यो । प्रहरीले रोक्न खोजेपछि थापाले प्रहरी प्रशासनदेखि मन्त्रालयसम्म फोन गरे । त्यसपछि थापाको नेतृत्वमा आएको टोली पार्टी कार्यालयभित्र गएर भीम रावल र भानुभक्त जोशीको कार्यकक्षबाट उनीहरूका नेम प्लेट पछारे ।

त्यहाँ उनी समर्थित नेता कार्यकर्ताले रावलको ठाउँमा लेखराज भट्ट र भानुभक्तको ठाउँमा कर्णबहादुर थापाको नेम प्लेट झुन्ड्याए । त्यसविरुद्ध माधव समर्थित कार्यकर्ताले नयाँ राखिएको नेम प्लेट हटाएपछि झडपको स्थिति पैदा भएको हो ।
माधव समर्थितले लगाएको बोर्डलाई हटाएर अहिले ओली पक्षले नयाँ बोर्ड लगाएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले भने प्रदेश कार्यालयको उद्घाटन गर्ने भन्ने कुरा जानकारी आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?