सूकीमाथि हालसम्मकै गम्भीर आरोप

काठमाडौँ- म्यानमार सेनाले नेतृ आङ सान सुकीमाथि अवैध रुपमा ६ लाख डलर र सुन लिएको नयाँ अभियोग लगाएको छ । यो आरोप सेनाले उनीमाथि जारी गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो अभियोग भएको बताइएको छ ।

यसअघि उनलाई सुरक्षाकर्मीले बोक्ने ‘वाकीटकी’ लगायतका डिभाइस अवैध रुपमा राखेको अनि कोभिडसम्बन्धी नियमहरूको उल्लंघन गरी चुनाव प्रचार गरेको आरोप लगाइएको थियो । फेब्रुअरी १ मा सेनाको कू जारी भएदेखि उनलाई कैद गरि राखिएको छ । त्यस्तै राष्ट्रपति विन मिन्टसहित क्याबिनेटका अन्य मन्त्रीहरूलाई पनि भ्रष्टाचार गरेको सेनाको आरोप छ ।

स्वतन्त्र अन्तर्राष्ट्रिय अवलोकनकर्ताहरूले सेनाको यो नयाँ दाबीलाई आधारहीन बताइरहेका छन् ।सुकीको रिहाइ र देशमा लोकतन्त्रको पुनःस्थापनाको माग गर्दै म्यानमारमा अहिले पनि देशभर आन्दोलन जारी छ । यसबीच सुरक्षाकर्मीको गोली लागेर ५० भन्दा धेरै सर्वसाधारणले ज्यान गुमाइसकेका छन् ।

बिहीबार पनि देशभरबाट कम्तीमा सात प्रदर्शनकारीको मृत्यु भएको खबर छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?