काठमाडौं । आजको संसद बैठकमा नयाँ दृश्य देखिने भएको छ । त्यो हो सांसद सिटको लहर । आज सिटको लहर व्यवस्थापन पहिलेभन्दा केही फरक तरिकाले तयारी गरिएको छ । आजको बैठकमा एमाले र माओवादी केन्द्रका सांसद छुट्टाछुट्टै लहरमा बस्नेछन् ।
निर्वाचन आयोगले संघीय संसद सचिवालयलाई एमाले र माओवादी केन्द्र अलग भइसकेको पत्र पठाएसँगै आजको प्रतिनिधि सभाको बैठकमा एमाले र माओवादी केन्द्रका सांसद छुट्टाछुट्टै बस्ने भएका हुन् । तर माओवादी केन्द्रका सांसद पनि सत्तापक्षकै लाइनमा बस्नेछन् । उसले सरकारलाई दिएको समर्थन फिर्ता नगरेकाले सत्तापक्षकै लाइनमा बस्ने संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे बताउँछन् ।
यसअघि प्रचण्ड, झलनाथ खनाल, माधव नेपालसँग सँगै बस्दै आएकोमा आजको बैठकमा उनीहरुको सिट अलग हुनेछ । किनकी नेपाल र खनाल एमालेका सांसदहरु बस्ने लहरमा बस्नेछन् भने प्रचण्ड माओवादी केन्द्रका सांसदहरुको लहरमा बस्नेछन् । प्रतिनिधिसभाको बैठक बस्नु अगाडि माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बसेको छ ।
अध्यादेश पेश गर्ने कार्यसूची :
आज बुधवारको बैठकमा विभिन्न ७ वटा अध्यादेश पेश गर्ने कार्यसूची छ । बैठकमा गृहमन्त्री रामबहादुर थापाले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन), सामाजिक सुरक्षा (पहिलो संशोधन) र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश पेश गर्ने कार्यसूची छ ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश पेश गर्ने कार्यसूची छ ।
यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले औषधि (तेस्रो संशोधन) अध्यादेश पेश गर्नेछन् । यसैगरी पूर्व तथा बाहालवाला गरि १४ सांसदको निधनमा शोक प्रस्ताव प्रस्तुत गरिनेछ।
यसअघि फागुन २३ बैठकमा सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पेश गरेपछि फिर्ता लिन माग गर्दै नेपाली कांग्रेस र जसपाले बैठक अवरुद्ध गरेका थिए भने प्रचण्ड – नेपाल समूहले बैठक बहिष्कार गरेका थिए ।
पत्र संसद सचिवालयमा :
निर्वाचन आयोगले मंगलवार नै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) साविकको अवस्थामा कायम भएको पत्र संसद सचिवालयमा पठाएको थियो। सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार सोहीबमोजिम सत्तापक्षका लागि संसदमा चार वटा लहर छुट्याइएको छ। अब पार्टीगत हिसाबले उनीहरूको सिट फरक-फरक हुनेछ।
सात अध्यादेश पेश हुने पुनर्स्थापित प्रतिनिधि सभाको बैठक आज दिउँसो बस्ने भएको छ। बैठक बुधबार दिउँसो एक बजे बस्ने प्रतिनिधिसभाको बैठकमा ७ वटा अध्यादेश पेश गरिने संघीय संसद सचिवालयको महासचिवमा भरतराज गौतमले जानकारी दिए।
मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेशहरू जारी गरेकी हुन्। कार्यसूचीमा रहेका अध्यादेशहरू जारी भएको ६ महिनाभित्र प्रतिनिधिसभाबाट पारित हुनुपर्ने पर्ने प्रावधान छ।
बैठकमा बहालवाला तथा पूर्वसांसदको निधनमा शोक प्रस्ताव पेश हुने सम्भावित कार्यसूची रहेको छ।
सोमबारको बैठकमा पेश भएर पारित हुन नसकेका विधेयकहरु आजको बैठकमा पनि पेश हुने संसद सचिवालयले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया