हङकङमा चिनियाँ खोप लगाएका एकजनाको मृत्यु

हङकङ । हङकङमा चिनियाँ खोप सिनोभ्याक लगाएका एकजनाको मृत्यु भएको छ । मंगलवार चिनियाँ कम्पनी सिनोफार्मले विकास गरेको सिनोभ्याक खोप लगाएका एकजनाको मृत्यु भएको हो ।

स्वास्थ्य विभागका अनुसार फेब्रुअरी २६ मा खोप लगाएका ६३ वर्षीय वृद्धको मृत्यु भएको हो । खोप लगाइसकेपछि बिरामी भएका उनलाई फेब्रअरी २८ मा क्वीन एलिजाबेथ अस्पताल पठाइएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।

स्रोतका अनुसार उनलाई हृदयघात भएको बताइएको छ । उनलाई तत्कालै अस्पताल पुर्‍याइए पनि उनको जीवन बचाउन नसकेको जनाइएको छ । ‘अहिले खोप लगाइएको कारण मृत्यु भएको हो भन्‍ने भन्‍न सकिँदैन,’ विभागले विज्ञप्ति जारी गर्दै भन्यो ।

विभागले अस्पतालका अधिकारीहरुबाट थप जानकारी दिन आग्रह गरिरहेको छ ।

स्रोतका अनुसार जब ती व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको थियो, क्लिनिकहरूले उनलाई सिनोभ्याक ज्याबको खोप लगाएको कुरा सूचित गरिसकेका थिए । अस्पताल प्रशासनले उनको श्‍वासप्रश्‍वासमा गम्भीर समस्या देखिएका कारण बचाउन नसकिएको जनाएको छ ।

हङकङमा पनि चिनियाँ खोप लगाउन शुरु गरिएको छ । तर, विश्‍वभरबाट चिनियाँ खोपप्रति विभिन्‍न आशंकाहरु उब्जिरहेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?