सरकार गठनबारे प्रचण्ड-नेपाल पक्षको दौडधुप, कांग्रेसपछि आज जसपासँग छलफल

काठमाडौं । संसद पुनर्स्थापनासँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्ष सरकार गठनबारे छलफलमा जुटेको छ ।

बुधवार कांग्रेससँग छलफल गरेको प्रचण्ड-नेपाल पक्षले बिहीवार जनता समाजवादी पार्टीसँग छलफल गरेको छ ।

बिहान नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रचण्ड-नेपालले जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठ लगायतसँग छलफल गरेका छन् ।

छलफलका क्रममा जसपाका नेताहरुले विभिन्न सर्तहरु राखेको बताइएको छ । स्रोतले दिएको जानकारी अनुसार जसपाले संविधान संशोधन साथै आफ्ना नेता रेशम चौधरीलगायत अन्य थुनामा रहेका नेता कार्यकर्ताको रिहाई लगायतका मागहरु राखेका छन् ।
आजको छलफल सकारात्मक भएको बताउँदै त्यसलाई निरन्तरता दिने विषयमा छलफल भएको समेत बताइएको छ ।

यसअघि पनि विभिन्न मागहरुसहित सरकारमा सामेल भएको जसपा आफ्ना सम्झौताहरु कार्यान्वयन नभएको जसपा नेताहरुको गुनासो रहेको छ ।

त्यस्तै अब बन्ने सरकारले आफूहरुले लामो समयदेखि उठाउँदै आएको मागहरु सम्बोधन भएमात्रै आफूहरु सरकारमा सामेल हुने कुरामा सहमती हुने जसपाका नेताहरुले प्रचण्ड-नेपालसँग राखेको स्रोतले जनाएको छ ।

त्यससँगै प्रचण्ड-नेपाल पक्षले आफूहरुले सधैँ जसपाको समस्या समाधानका लागि पहल गरिरहेको र आगामी दिनहरुमा पनि गर्ने विश्वास व्यक्त गरेको सहभागि एक नेताले जानकारी दिए ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेसँगै प्रचण्ड-नेपाल पक्ष आन्दोलित थियो । फागुन ११ गते मंगलवार सर्वोच्च अदालतले प्रधानमन्त्रीको उक्त कदमलाई उल्याइदिएसँगै सरकार गठनका लागि प्रचण्ड-नेपाल पक्षको दौडधुप देखिएको हो ।

यसअघि उक्त पक्ष (प्रचण्ड-नेपाल) ले बुधवार कांग्रेस सभापति शेरबहादुर देउवासँग सत्ता समिकरणका विषयमा छलफल गरेका थिए । सत्ता समिकरणमा जाने वा नजाने भन्ने विषयमा आ-आफ्ना नेताहरुसँग छलफल गरेर निर्णय गर्ने सहमती भएको थियो । त्यसै विषयमा छलफल गर्न सभापति देउवाले पदाधिकारी तथा पूर्व पदाधिकारीहरुसँग छलफल गर्न लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?