झण्डै ६ सय कैदीबन्दीलाई आम माफी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा विभिन्न कारागारमा रहेका ५ सय ९५ कैदीबन्दीको कैद सजाय माफी गरिएको छ । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ सय ९५ कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी हुन्।

राष्ट्रपति कार्यालयका अनुसार र्खिहाङ लिम्बूसमेतका ४०१ कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको छ। लिम्बूलगायतलाई ‘फौजदारी कसूर तथा ‘ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३’ को दफा १२ बमोजिम कैद सजाय घटाइएको हो।

यस्तै राष्ट्रपतिले आजसम्म कम्तीमा ५० प्रतिशत कैद भुक्तान गरेका र असल चालचलन भएका सुदीप लिम्बूसमेत १७९ कैदीको भुक्तान हुन बाँकी कैद छुट दिएकी हुन्। सर्वोच्च अदालतको गत साउन १९ गतेको परमादेशसमेतको आधारमा फौजदारी कसूर २०७४ लागू हुनुपूर्व गरेको कसूरमा जन्मकैदको सजाय तोकिएकालाई कैद छुट दिइएको हो।

यसैगरी सुरेन्द्र भनिने सालिन्द्र यादवसमेतका १५ जनाको समेत विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसला बमोजिम कैद, जरिवाना, सर्वस्वलगायत सजाय माफी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?