लमजुङ । लमजुङको बेँसीशहर नगरपालिकाले तीन आर्थिक वर्षमा २९ वटा सडक कालोपत्र सम्पन्न गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७४-७५ देखि २०६६-७७ सम्ममा नगरभित्रको विभिन्न २९ वटा शाखा सडक कालोपत्र सम्पन्न गरेको हो ।
नगरपालिकाको ६० प्रतिशत र उपभोक्ताको ४० प्रतिशत लगानीमा नगरभित्रका विभिन्न शाखा सडक कालोपत्र सम्पन्न गरेको नगर प्रमुख गुमानसिंह अर्यालले बताए । उनले भने, “हामीले भौतिक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राख्दै आएको र तीन वर्षको अवधिमा नगरपालिकाले ३.६६ किलोमिटर सडक कालोपत्र गरेको छ । यतिका सडक कालोपत्र गर्नलाई करीब चार करोड खर्च भएको छ ।’’
नगरपालिकाका अनुसार गत आर्थिक वर्ष २०७६-७७ मा ०.९९ किलोमिटर सडक अर्थात सात सडक कालोपत्र सम्पन्न भएको थियो । त्यस्तै आ.व २०७५-७६ मा १.४७ किलोमिटर अर्थात् १४ सडक र आ.व २०७४-७५ मा १.५ किलोमिटर अर्थात् आठ सडक कालोपत्र सम्पन्न भएको थियो ।
कालोपत्र सम्पन्न गरेकामध्ये आ.व २०७६-७७ मा ४३ लाख ९७ हजार ८६१ आ.व २०७५-७६ मा एक करोड ६३ लाख ८३ हजार ३१४ र आ.व २०७४-७५ मा एक करोड ५० लाख खर्च भएको नगरपालिकाले जनाएको छ । स्थानीय तहको निर्वाचनपछि बेँसीशहर बजारका शाखा सडक ६०-४० को लागत साझेदारीमा कालोपत्र गरिएका हुन् ।
सडक विस्तार तथा कालोपत्र हुन बाँकी सडकको समेत काम हुने प्रक्रियामा रहेका छन् । केही सडकको निर्माण कार्य अघि बढिरहेको छ । नगरपालिकाले यस चालू आ.वमा नगरको विभिन्न स्थानका पाँच सडक कालोपत्र गर्न लागेको छ । यसका लागि चालू आ.वमा नगरपालिकाले ५४ लाख ९८ हजार ३६९ विनियोजित गरेको छ । नगरपालिकाले नगरभित्रका सबै गाउँमा सडक सञ्जालले जोड्न लागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया