मबाहेक अरूलाई सूर्य चिह्नको नेतृत्व गर्ने अधिकार छैन: ओली

काठमाडौं । सरकारले आगामी वैशाख १७ गते ४० जिल्ला र २७ गते ३७ जिल्लामा प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।

मन्त्रिपरिषद्को बैठकबारे जानकारी दिँदै मंगलबार सरकारको प्रवक्तासमेत रहेका सूचना प्रविधि तथा सञ्चारमन्त्री पार्वत गुरुङले पहिलो चरणमा प्रदेश नम्बर २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ४० जिल्ला र दोस्रो चरणमा १ नम्बर प्रदेश, वाग्मती र कर्णाली प्रदेशका ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय भएको बताए।

दुई चरणमा निर्वाचन हुने प्रदेश र जिल्ला टुंगो लगाइएको विषयमा मंगलबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति भण्डारी र आयोगलाई जानकारी गराएका छन्। प्रधानमन्त्री ओलीले मंगलबार बिहान उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठ र सुवास नेम्वाङसहित आयोग पुगेर पहिलो चरणमा चारवटा प्रदेशका ४० जिल्ला र दोस्रो चरणमा ३ वटा प्रदेशका ३७ जिल्लामा निर्वाचन हुने जानकारी गराउँदै आयोगबाट निर्वाचन तयारी सम्बन्धमा भएका कामको जानकारी लिएका थिए।

मन्त्रीहरूसहित आयोग पुगेका प्रधानमन्त्री ओलीले निर्वाचन चिह्न ‘सूर्य’ को नेतृत्व गर्ने अधिकार आफूबाहेक कसैलाई नभएको बताएका छन्। निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा उनले आफू जीवनभर सूर्य चिह्नबाटै चुनाव लडेर सांसद र तत्कालीन नेकपा एमालेको निर्वाचित अध्यक्षसमेत भएको बताए। ‘सूर्य चिह्नबाटै लडेर सांसद भएँ, म तत्कालीन एमालेको निर्वाचत अध्यक्ष हुँ, नेकपा एमाले भन्ने बित्तिकै सबैले सूर्य चिह्न सम्झन्छन्,’ ओलीले आयोगका पदाधिकारीसँग भनेका थिए, ‘सूर्य चिह्नको प्रतिनिधित्व मैले र हँसिया हथौडाको प्रतिनिधित्व पुष्पकमल दाहाल ‘प्रचण्डजी’ ले गरेर पार्टी एकता गरेका थियौं, अरू सदस्य तथा पदाधिकारी हामीले मनोनयन गरेका हौं। तीन महिनाभित्र एकीकरण प्रक्रिया र तीन वर्षसम्म महाधिवेशन हुन नसकेपछि पहिलो अध्यक्ष र एकल हस्ताक्षरकर्ताको हैसियतले मैले केन्द्रीय कमिटी विस्तार गरेको हुँ।’  नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?