कोरोनाको खोप लगाउन १ करोड ३० लाख ‘सिरिन्ज’ किनिँदै

काठमाडौं । कोरोना खोप सबै जनतासम्म पुर्‍याउने उद्देश्यले सरकारले ग्लोबल टेन्डरमार्फत ‘सिरिन्ज’ किन्ने प्रक्रिया थालेको छ । कोभिड खोपका लागि १ करोड ३० लाख थान सिरिन्ज किन्न स्वास्थ्य सेवा विभागले प्रक्रिया अघि बढाएको हो ।

स्वास्थ्य सेवा विभागका खरीद विभाग प्रमुख उपेन्द्र ढुंगानाले कुल जनसंख्याको २० प्रतिशतलाई खोप पुर्‍याउने गरी सिरिन्ज किन्ने प्रक्रिया थालिएको बताए । उनका अनुसार प्रतिस्पर्धाका माध्यमबाट सिरिन्ज किन्ने ठेक्का स्वदेशी तथा विदेशी कम्पनीलाई दिइनेछ ।

कोभिड–१९ आपत्कालीन राहत कार्यक्रमअन्तर्गत एशियाली विकास बैंक तथा विकास साझेदारहरूले सहायता दिने बताएका थिए । सोहीअनुसार विभागले सिरिन्ज किन्न लागेको ढुंगाना बताउँछन् ।

आगामी अप्रिलभित्रै सिरिन्ज ल्याइसक्ने गरी टेन्डर प्रक्रिया अघि बढेको उनको भनाइ छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतम धेरै मात्रामा सिरिन्ज किन्नुपर्ने भए पनि एकैपटक नकिनिने तर चरणबद्ध रूपमा किनिने बताउँछन् । उनका अनुसार पहिलो चरणको सिरिन्ज चाँडोमा अप्रिलभित्रै ल्याइनेछ । स्वास्थ्य सेवा विभागका अनुसार अहिले ६० लाख थान सिरिन्ज नियमित खोप कार्यक्रमका लागि छ । यद्यपि स्टकमा भएको सिरिन्ज अरू खोपमा समेत प्रयोग गर्नुपर्ने भएकाले अहिलेको स्टक पर्याप्त नरहेको विभागका अधिकारीहरू बताउँछन् । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?