इलाम । मालपोत भन्नेबित्तिकै ‘घुसको अखडा’ सम्झिने आममानसिकतालाई व्यवहारमै सुधार्न सदरमुकामस्थित मालपोत कार्यालय केही महिनायता सक्रिय छ। मालपोतको सेवामा हुनेगरेको अवैध लेनदेन र ढिलासुस्ती शून्य बनाउन कार्यालयको भौतिक संरचनादेखि सेवाप्रणालीसम्म सुधार गरिँदै छ। सेवाग्राहीलाई बिनाझन्झट छिटो, छरितो र विश्वसनीय सेवा दिन कार्यालयले प्राविधिक र कार्यालयीय व्यवस्थापन सुधारेको छ।
कार्यालयको आँगनमा पुग्नेबित्तिकै सेवाग्राही तानातान गर्ने लेखापढी व्यवसायीलाई त्यहाँबाट हटाइएको छ। कार्यालयले भू–सेवाकेन्द्र बाहेक लेखापढी व्यवसायीलाई लक्षित गरी सूचना नै गरेर हटाएको हो। ‘कार्यालय हाताभित्र स्वयं सेवाग्राही मात्र आउने हुन्, अन्य अनधिकृत व्यक्ति प्रवेश नगर्न र नगराउनुहुन यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा उल्लेख छ।
यसअघिसम्म कुन सेवाको कति शुल्क लिने भन्ने निश्चित नै नगरी बसेका लेखापढी व्यवसायीले सेवाग्राहीलाई कार्यालय पुग्नेबित्तिकै पन्जामा पार्थे। र, यो वा त्यो बहाना गर्दै सेवाग्राहीलाई १ दिन, २ दिन, ७ दिन, महिना गर्दै लामो समय झुलाउँथे। त्यति गर्दा पनि नभए सेवाग्राहीबाट अवैध रकम लिएर ‘तपाईको काम हुने त थिएन तापनि मैले गरिदिएँ,’ भन्दै बिदा दिन्थे।
सेवाग्राहीलाई हैरान बनाउनमा लेखापढी व्यवसायी मात्र होइन, कार्यालयका केही कर्मचारीसमेत मिलेमतोमा रहेको आरोप लाग्ने गरेको थियो। तर, अब कोही अनधिकृत व्यक्तिले कार्यालयको हातामा प्रवेश नै नपाउने कार्यालय प्रमुख यादव राउत बताउँछन्। ‘वास्तवमा भू–सेवाकेन्द्र सञ्चालन भएका मालपोतमा अरू लेखापढी व्यवसायीको प्रवेश नै नहुनुपर्ने थियो,’ उनले भने, ‘पटक–पटक मौखिक अनुरोध गर्दा पनि नभएपछि सूचना नै निकालेर उहाँहरूलाई प्रवेश निषेध गरिएको हो।’ भू–सेवाकेन्द्रको सेवा शुल्कमा एकरूपता ल्याउन सबै केन्द्रको शुल्क निश्चित गर्न पनि कार्यालयले प्रयास गरिरहेको छ। नागरिक दैनिकमा समाचार छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया