काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा नेपाली कांग्रेस जनतामाझ गएको छ। कांग्रेस विभिन्न कार्यक्रमसहित जनतामाझ पुगेको हो। यसै क्रममा कांग्रेसले शनिबार मुलुकभरिका स्थानीय तहमा प्रदर्शन र सभा गरेको छ। विरोध कार्यक्रममा केन्द्रीयस्तरका नेताहरू पनि सहभागी भए। राजनीतिक कार्यक्रममा भाग लिन जिल्ला जिल्ला पुगेका केन्द्रीय नेताहरूले प्रतिनिधिसभा विघटन गर्ने ओली कदमको खुलेरै आलोचना गरेका छन्।
विराटनगरस्थित संवाददाता विनोद सुवेदीका अनुसार यहाँ आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री ओली अराजक भएको आरोप लगाए। उनले भने, ‘मैले जे बोल्यो त्यही कानुन हो भन्ने ओलीको मनसायलाई नेपाली जनताले कुनै हालतमा स्वीकार गर्दैनन्।’
कोइरालाले प्रधानमन्त्री ओली स्वेच्छाचारी र अराजक हुनुमा माधव नेपाल र पुष्पकमल दाहाल (प्रचण्ड) को पनि भूमिका रहेको बताए। मानवअधिकार तथा शान्ति समाजको साधारण सभामा उनले भने, ‘ओलीले असंवैधानिक काम गर्दा माधव नेपाल र प्रचण्डले बचाउ गरेर थप असंवैधानिक कदम चाल्न प्रोत्साहित गर्नुभयो।’ उनले अहिले कांग्रेस प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा रहेको स्पष्ट पारे।
सोही कार्यक्रममा मानवअधिकारकर्मी कृष्ण पहाडीले अदालतले प्रतिनिधिसभा पुनस्र्थापनाको निर्णय गरे हाल देखिएको आधा समस्या समाधान हुने बताए। उनले संविधानविपरीत काम गरेर प्रधानमन्त्रीले दलीय व्यवस्थामा निर्दलीय चरित्र देखाएको आरोपसमेत लगाए। कार्यक्रममा प्रदेश १ का पूर्व सामाजिक विकासमन्त्री जीवन घिमिरे, जनता समाजवादी पार्टी प्रदेश १ संसदीय दलका नेता जयराम यादव, मानव अधिकारकर्मी सोमराज थापालगायतले प्रधानमन्त्रीले असंवैधानिक र अलोकतान्त्रिक कदम चालेकाले त्यसलाई सच्याएर राजनीतिलाई सही बाटोमा ल्याउनुपर्ने धारणा राखे।
नेपालगन्ज समाचारदाता अर्जुन ओलीका अनुसार कांग्रेस केन्द्रीय नेता डा. मीनेन्द्र रिजालले कांग्रेसलाई सत्तामा जान कुनै हतारो नभएको बताएका छन्। नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाले छुट्टाछुट्टै स्थानमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै रिजालले भने, ‘नेपाली कांग्रेसका लागि संविधान जोगाउनु पहिलो जिम्मेवारी हो, संविधान जोगियो भने, लोकतन्त्र जोगियो भने मात्र देश जोगिन्छ, त्यसपछि हामी समृद्धिको बाटोमा जान सक्छौं, कांग्रेसलाई सत्ताको चिन्ता होइन, देशको चिन्ता छ।’नागरिक दैनिकमा समाचार छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया