नेकपाको स्वामित्व कसलाई ?

काठमाडौं । नेकपाको एक खेमाका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पक्षमा बहुमत रहेको दाबी गर्दै ‘पार्टीको भगौडा को हो’ भनेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन्।

‘हामीलाई भगौडा भन्नुभएछ। ७२ प्रतिशत केन्द्रीय समिति भगौडा, ३० प्रतिशतसमेत नभएको चाहिँ रैथाने ? बैठक गरौं भनेर लाइन लागेर जाँदा बैठकबाट भाग्ने उहाँचाहिँ भगौडा नहुने,  हामीचाहिँ भगौडा हुने ? पार्टीलाई लात हानेर भाग्नेचाहिँ भगौडा नहुने हामीचाहिँ भगौडा ?’ आफू नेतृत्वको पार्टीको काठमाडौं जिल्ला कमिटीले बुधबार आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, ‘जहिले पनि बैठकबाट भाग्ने उहाँ। पछिल्लो बैठक हामी जो बस्यौं त्यो केपी ओलीसमेतको सहमतिसहितको बैठक हो। त्यो बैठक छाडेर, विधान मिचेर, पार्टीलाई लात हानेर हिँड्ने भगौडा नहुने ?’

दाहालले निर्वाचन आयोगले विधिसम्मत निर्णय गर्नेमा आफू ढुक्क रहेको बताए। ‘पार्टीको नाम र सूर्य चिह्न हाम्रै हुन्छ। यदि, त्यस्तो भएन भने यहाँ आँधीहुरी आउँछ’, उनले भने, ‘निर्वाचन आयोग र सर्वोच्च अदालतप्रति अझै भरोसा छ। हामी ढुक्क छौं। निर्णय हाम्रै पक्षमा आउँछ।’

उनले आफूहरूले काम गर्न नदिएको प्रमाण पेस गर्न पनि प्रधानमन्त्री ओलीलाई चुनौती दिए। ‘केपी ओलीले पार्टीले मलाई काम गर्न नदिएको हुँदा संसद् विघटन गरेँ भन्ने दाबी गर्दै आउनुभएको छ’, उनले भने, ‘पार्टीले कहाँ घेराबन्दी गर्‍यो ? पार्टीले कुन काममा बाधा हाल्यो। हामीले के काम गर्न दिएनौं, एउटा प्रमाण दिनुस्, चुनौती दिन चाहन्छु केपी ओलीलाई।’

उनले ओलीले कुर्सी छाड्नुपर्ने भए ‘भाँचिदिने बताएको’ उल्लेख गरे। ‘उहाँ त कुर्सी भाँचेर छोड्छु भन्नुहुन्थ्यो। उहाँले कुर्सी मात्र होइन संविधान र राष्ट्र नै भाँचभुच गर्ने अवस्था आयो। अब कसरी सहने ?’, उनले भने। आजको अन्नपूर्ण पोष्टमा यो समाचार प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?