पर्यटन व्यवसायीले गरे सीमानाका सञ्चालन गर्न माग

RSS
0
Shares

काठमाडौं । कोभिड–१९ महामारीका कारण बन्द रहेका नेपाल–भारतबीचका सीमानाका अविलम्ब खुला गर्न पश्चिमाञ्चल होटल संघ पोखराले माग गरेको छ । संघका अध्यक्ष विकल तुलाचनले संस्थाका तर्फबाट विज्ञप्ति जारी गर्दै सरकार समक्ष त्यस्तो माग गरेका हुन् । संघले उक्त विषयमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ समक्ष ध्यानाकर्षणपत्र समेत बुझाएको छ ।

ध्यानाकर्षणपत्रमा विगतको तथ्याङ्क अनुसार नेपाल आगमन हुने पर्यटकमध्ये सबैभन्दा बढी हिस्सा छिमेकी मुलुक भारतबाट स्थलमार्ग हुँदै आगमन हुने रहेको उल्लेख गर्दै छिमेकी मुलुकबाट पर्यटक भित्र्याएर वर्तमान समयमा देखिएको पर्यटकको अभावलाई केही हदसम्म पूर्ति गर्न सकिने जनाउँदै नाका खोल्न आग्रह गरिएको छ ।

ध्यानाकर्षणपत्रमा भनिएको छ, “अन्य देशबाट हवाईमार्ग हुँदै आउने पर्यटकलाई अनुमति प्रदान गरिएको अवस्था छ, राजनीतिक तथा अन्य गतिविधिको भेला, सभा, सम्मेलन निर्वाधरूपमा सञ्चालन भइरहेका छन्, सम्पूर्ण पर्यटकीय गतिविधि र गन्तव्य खुलिसकेको अवस्थामा पर्यटन व्यवसायलाई राहत प्रदान गर्न र वर्तमान समयमा पर्यटकको अभावलाई पूर्ति गर्न आवश्यक देखिन्छ । तसर्थ स्वास्थ्य सुरक्षाका सावधानी, मापदण्ड र कार्यविधि अपनाई भारतसँग जोडिएका सीमानाकालाई अविलम्ब पुनः सञ्चालनको वातावरण मिलाउन गण्डकी प्रदेश सरकारसमक्ष जोडदार माग गर्दछौँ ।”

नेपाल सरकारले होटल, रेष्टुरेण्ट, हिमाल आरोहण, पदयात्रा तथा अन्य पर्यटकीय गतिविधि सञ्चालनका लागि अनुमति प्रदान गरेता पनि अन्तर्राष्ट्रिय पर्यटकको आगमन अत्यन्त न्यून रहेको समेत ध्यानाकर्षणपत्रमा स्मरण गराइएको छ । वर्तमान अवस्थामा अन्तर्राष्ट्रिय पर्यटकको आगमनमा आएको शून्यतालाई चिर्न र दिगो पर्यटन विकासका लागि आन्तरिक पर्यटन मुख्य मेरुदण्ड रहेता पनि हालको आन्तरिक पर्यटकको आगमनले पोखरालगायत अन्य पर्यटकीय गन्तव्यको अकुपेन्सी आवश्यक मात्रामा पूर्ति गर्न सक्ने स्थिति नरहेको उल्लेख गरिएको छ ।

संघका अध्यक्ष तुलाचनले कोभिड–१९ का कारण अति प्रभावित व्यवसायको रुपमा होटल तथा पर्यटन व्यवसाय भएता पनि हालसम्म कुनै पनि प्रकारको राहत प्याकेज प्राप्त गर्न नसकेको उल्लेख गर्दै सरकारद्वारा आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यमा घोषणा गरेको पुनःकर्जा बैंक तथा वित्तीय संस्थाले साना, मझौला र ठूला व्यवसायीलाई प्रदान गर्न आनाकानी गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?