काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङ आयोजनामा करिब एक दर्जन माग राख्दै पूरा नगरे निर्माण रोक्ने चेतावनी दिएका स्थानीय चौतर्फी टीकाटिप्पणी भएपछि पछि हटेका छन् ।
चन्द्रागिरि नगरपालिका–२ का स्थानीयले निर्माणमा कुनै अवरोध नगर्ने र आफूहरूले राखेका माग आयोजनाले बिस्तारै सम्बोधन गर्दै जानुपर्ने माग अघि सारेको नगरपालिकाका मेयर घनश्याम गिरीले बताए । ‘स्थानीयका मागबारे नगरपालिकामा छलफल गरिसकिएको छ,’ उनले भने, ‘दुवै पक्ष राख्दा कुरा नमिल्ला भनेर एक पक्षलाई मात्र राखेर छलफल गरिएको हो ।’
सुरुङमाथिको जग्गा उपयोग गर्न पाइने नपाइनेबारे स्थानीय जानकार नभएको र यसबारे आफूले प्रस्ट्याइसकेको उनको भनाइ छ । ‘नगरपालिकाको मापदण्डअनुसार घर बनाउन पाइनेछ,’ उनले भने, ‘जग्गा खरिदबिक्री गर्न पनि पाइनेछ ।’ सुरुङ खन्ने क्रममा भविष्यमा ठूलो धनजनको क्षति भए आयोजना वा नेपाल सरकारले व्यहोर्ने विषयमा पनि छलफल भएको छ । ‘सुरुङ खन्ने क्रममा ब्लास्टिङ गर्दा क्षति हुन्छ भन्ने डर स्थानीयमा छ,’ उनले भने, ‘यस विषयमा आयोजनासँग छलफल गर्न बाँकी छ ।’
आयोजनामा पर्ने अझै ६० घर अधिग्रहण गर्न बाँकी छ । यसबारे पनि छलफल भइरहेको उनको भनाइ छ । ‘आफूहरूले राखेका मागका विषयमा स्थानीय आक्रामक छैनन्,’ उनले भने, ‘तर माग बिस्तारै पूरा गर्नुपर्छ भन्ने पक्षमा छन् ।’ खोला सुकेर सिँचाइमा समस्या भए आयोजनाले सघाउनुपर्ने उनले बताए । वडा नम्बर २ का अध्यक्ष गोपी सुर्खेती नेतृत्वको टोलीले पुस १९ गते आठबुँदे मागसहितको ज्ञापनपत्र आयोजनालाई बुझाएको थियो । माग पूरा नगरे निर्माणको काम रोक्नेसम्मको चेतावनी उनीहरूले दिएका थिए । कान्तिपुर दैनिकमा विमल खतिवडाले लेखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया