म्याग्दी । म्याग्दीका एक व्यक्तिलाई कलेजो प्रत्यारोपणका लागि करिब १४ लाख सहयोग जुटेको छ । कलेजोको समस्याले थलिएका धवलागिरि गाउँपालिका–७ धारापानीका ५३ वर्षीय खड्कबहादुर थापाको उपचारका लागि सोमबार १३ लाख ९६ हजार ३९६ सहयोग गरिएको हो ।
काठमाडौँ–धारापानी सम्पर्क समाजले स्वदेश तथा विदेशमा रहेकाहरुबाट सो रकम सङ्कलन गरेर थापाको कलेजो प्रत्यारोपणका लागि सहयोग गरेको हो । अभियानको नेतृत्व गरेका समाजका अध्यक्ष क्याप्टेन भरतबहादुर थापाले सङ्कलित रकम थापालाई उपलब्ध गराइएको जानकारी दिए ।
“नामावली र ठेगानासहितको विवरण सोमबार सार्वजनिक गर्दै समाजले सहयोगदातालाई धन्यवाद ज्ञापन गरेको छ”, उनले भने, “सहयोग जुटाउन फलियागाउँ–काठमाडौँ समाजले पनि सघाएको थियो ।” नवलपुरको बेल्डीयाबाट केशरबहादुर थापा र डम्मरबहादुर थापाको संयोजकत्वमा ६८ हजार ५०५, कोरियाबाट कृष्णबहादुर थापाको संयोजकत्वमा ६९ हजार, जापानबाट काजी थापा, जीतबहादुर खत्री र अमृत थापाको पहलमा एक लाख ८८ हजार १९०, अष्ट्रेलियाबाट किसान पुन मगर, चक्रबहादुर थापा, भूपेन्द्र थापा, सन्तोष थापा र चन्द्रप्रकाश थापाको अगुवाइमा एक लाख ८७ हजार सङ्कलन भएको थियो ।
बेनीमा बस्दै आएका ५३ वर्षीय थापाको उपचारको क्रममा अर्थाभावपछि परिवारले सहयोगको अपिल गरेको थियो । ओमकुमारी शान्ति कोषले पनि थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान सञ्चालन गरेको थियो । बेनीको न्यूरोडका व्यवसायी र थापाका आफन्त एवं धारापानीका बासिन्दाले पनि सहयोग गरेका थिए ।
निर्माणसम्बन्धी काम गरेर जीविकोपार्जन गर्दै आएका थापाको हाल भारतको मुम्बईस्थित नायर अस्पतालमा उपचार भइरहेको छ । थापाकी श्रीमती यामुले आवश्यक आर्थिक स्रोत जुटेपछि शल्यक्रिया गरेर कलेजो प्रत्यारोपणको तयारी भएको बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया