तनहुँको फिरफिरेमा तमु उद्यान बन्ने

RSS
0
Shares

काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेमा तमु उद्यान निर्माण हुने भएको छ । गुरुङ समुदायको इतिहास, धर्म, संस्कृति, संस्कार र सामाजिक परिवेशको प्रतिबिम्ब झल्काउने गरी फिरफिरेको राङलीबोटमा ‘तमु हिल पार्क बनाउन’ लागिएको हो ।
वडाको योजनालाई सार्थक तुल्याउन स्थानीयवासीले निःशुल्क जग्गा उपलब्ध गराउने भएका छन् । ६ जना स्थानीय मिलेर दश रोपनी चार आना जग्गा दान गर्ने प्रतिबद्धता जनाएको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिएका छन ।

स्थानीयवासी कौरी गुरुङले एक रोपनी आठ आना, कविराज गुरुङले १५ आना, इन्द्रसुब्बा गुरुङले एक रोपनी सात आना, भुपरध्वज गुरुङले तीन रोपनी एक आना, लालु गुरुङले एक रोपनी ११ आना र मनबहादुर गुरुङले एक रोपनी आठ आना दिने भएका छन । उनीहरुले आगामी चैतसम्म पार्कको नाममा जग्गा पास गर्ने गरी एक समझदारीपत्रमा हस्ताक्षर गरेको वडाध्यक्ष गुरुङले बताए ।

“स्थानीयवासीले जग्गा दिने भएपछि पार्क निर्माणको काम अगाडि बढाउनलाई बाटो खुलेको छ,” वडाध्यक्ष गुरुङले भने । वडाले तमु हिल पार्क निर्माणका लागि चालु आर्थिक वर्षमा दश लाख बजेट विनियोजन गरेको छ । उक्त रकमले सडक बनाउने, जग्गा सम्याउने र पार्कको शिलान्यास गर्ने काम हुने गुरुङले जानकारी दिए। “यो वर्ष काम शुरु भएपछि तीनै तहका सरकारसँग बजेट माग्छौ,” उनले भने, “यसमा स्थानीयवासीको पनि लागत साझेदारी रहनेछ ।” उद्यान निर्माण सम्पन्न गर्न करिब पाँच करोड लाग्ने अनुमान छ ।

उद्यानलाई गुरुङ समुदायका युवा पुस्ताले इतिहासबारे अध्ययन गर्ने थलो बनाउने योजना छ । उद्यानको आकर्षणमा फलिना क्होइबो धि, गुरुङ जातिको पैतृक कार्यसँग जोडिएको क्होईबोमा १२ वटा वर्गचक्रको मूर्तिले घेरिएको हुनेछ । गुरुङ समुदायको परम्परागत घर निर्माण गरी जन्मदेखि मृत्युसम्मका कर्मकाण्ड झल्किने सामग्री प्रदर्शनमा राखिनेछ । जसबाट गुरुङ समुदायको बारेमा सोध अध्ययनमा सहयोग पुग्ने जनाइएको छ ।

उद्यानभित्र छुट्टै गोरखा राइफल्स र शान्तिपार्कको परिकल्पना गरिएको छ । बालउद्यान, वनभोजस्थल, भिआइपी सवारी र आपतकालीन उद्धारका लागि हेलिप्याड निर्माण गर्ने डिजाइनमा उल्लेख छ ।

स्थानीय तहको प्रगति बुझ्दै जिसस

जिल्ला समन्वय समिति तनहुँले स्थानीय तहमा सञ्चालन भएका योजनाको प्रगति विवरण बुझ्न अनुगमन शुरु गरेको छ । चालू आर्थिक वर्ष २०७७-७८ का लागि स्वीकृत वार्षिक योजनाको कार्य प्रगति विवरण जानकारी लिने उद्देश्यले समन्वय समितिले स्थानीय तहको अनुगमन शुरु गरेको हो ।

समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको नेतृत्वमा समितिले बन्दीपुर, आँबुखैरेनी, म्याग्दे गाउँपालिकाले सञ्चालन गरेका योजनाको बारेमा जानकारी लिएको छ । संविधानले स्थानीय तहले गरेका कामको अनुगमनको जिम्मेवारी दिएकाले समन्वय समितिले सोही बमोजिम अनुगमन शुरु गरेको समन्वय समितिका प्रमुख वाग्लेले जानकारी दिए।

समितिका सदस्य एवं प्रवक्ता गल गुरुङले बन्दीपुरमा चालू आर्थिक वर्षमा सञ्चालन गरिएका विकास योजना, काम गर्दा आइपरेका समस्यालगायत विषयमा जानकारी लिइएको बताए । “स्थानीय तहमा भइरहेका योजनाको बारेमा जानकारी लिँदै आइपरेका समस्या बुझ्ने र प्रदेश तथा सङ्घीय सरकारलाई जानकारी गराउने उद्देश्य हो,” उनले भने, “जिल्लाका सबै स्थानीय तहमा अनुगमन गर्छौ ।”

बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले कोभिड–१९ का कारण विकास योजना सञ्चालनमा कठिनाई भए पनि हाल विस्तारै कामले गति लिएको जानकारी दिए। उनले गाउँपालिकाले मिनी पदमार्ग पर्खाल निर्माणलाई महत्वका साथ सञ्चालन गरिरहेको छ । “बन्दीपुर पर्यटकीय नगरी भएकाले पर्यटन पूर्वाधार निर्माणलाई जोड दिएका छौ,” उनले भने ।

यसैगरी आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले चालू आर्थिक वर्षमा गाउँपालिकामा भइरहेका योजना निर्माणबारे समन्वय समितिको टोलीलाई जानकारी गराए । अनुगमनमा समितिका प्रमुख वाग्लेसहित उपप्रमुख पवित्रा पौडेल, जिल्ला समन्वय अधिकारी प्रेमराज गिरीलगायत सहभागी थिए ।

समितिलाई जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाबीच समन्वय गर्ने, विकास निर्माण सम्बन्धी कार्यमा सन्तुलन कायम गर्ने र सो को अनुगमन गर्ने, जिल्लामा रहने स्थानीय र प्रदेशका सरकारी कार्यालय स्थानीय तहबीच समन्वय गर्ने जिम्मेवारी रहेको छ ।

वडामै योजना सम्झौता

जनतालाई घरदैलोमा नै सेवा दिन तनहुँको देवघाट गाउँपालिकाले वडास्तरमै पुगेर योजना सम्झौता गरेको छ । गाउँपालिकाले वडा नं १ र ४ मा पुगेर चालू आर्थिक वर्षमा सञ्चालन हुने विकास योजनाको सम्झौता गरेको हो । देवघाट गाउँपालिका–४ मा सञ्चालन हुने नौ वटा योजनाको सम्झौता गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटाले जानकारी दिए ।
वडास्तरमै पुगेर उपभोक्ता समितिलाई अभिमुखीकरण सञ्चालन गर्दै योजना सम्झौता गरिएको सापकोटाले बताए । “उपभोक्ता समितिलाई योजना सञ्चालनका विषयमा जानकारी गराउँदै समितिसँग योजनाको सम्झौता गरिएको छ”, उनले भने, “वडामै पुगेर योजना सम्झौता गर्दा स्थानीयवासी पनि खुशी छन् ।”

देवघाट गाउँपालिका–४ का वडाध्यक्ष पदमबहादुर गुरुङले योजना सम्झौताका लागि एक दिनको समय छुट्याएर गाउँपालिका नै पुग्नुपर्ने अवस्थाको अन्त्यका लागि वडाबाटै सम्झौता गरिएको बताए । गाउँपालिकाले यस अगाडि वडा नं १ मा सञ्चालन हुने १२ विकास योजनाको सम्झौता गरिसकेको छ । योजना सम्झौता गर्नका लागि उपभोक्तालाई गाउँपालिकाको कार्यालयमा आउनुपर्ने बाध्यताको अन्त्य गर्न वडामा पुगेर योजना सम्झौताको अभियान सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत सापकोटाले बताए ।

“योजना सम्झौताका लागि गाउँपालिकामा आउनुपर्दा जनताले दुःख पाए”, उनले भने, “वडामै पुगेर योजना सम्झौता गरिदिँदा जनतालाई सहज हुने भयो ।” वडामै पुगेर योजना सम्झौता गर्दा त्यस ठाउँको बारेमा जानकारी प्राप्त हुने र योजना सञ्चालनमा सहज हुने विश्वास गरिएको छ । “समयमै योजनाको सम्झौता गरी गुणस्तरीय काम सम्पन्न गर्न उपभोक्तालाई आग्रह गरेका छौ”, उनले भने ।

योजना सम्झौता गर्न गाउँपालिका आउँदा स्थानीयवासीले पूरा कागजात नल्याउने समस्या रहँदा दुई÷तीन पटकसम्म एउटै कामको लागि गाउँपालिका धाउनुपर्ने बाध्यता थियो । वडामै पुगेर योजना सम्झौता गर्नुपूर्व गाउँपालिकाका प्राविधिकले योजनाको लागत इष्टमेट तयार पारेका थिए । सोही बमोजिम उपभोक्ता समितिका पदाधिकारीलाई कागजपत्र व्यवस्थापन गर्न जानकारी गराइएको थियो । “वडामै पुगेर योजना सम्झौता गर्दा सम्झौताका लागि आवश्यकपर्ने कागजपत्र व्यवस्थापन गर्न पनि स्थानीय उपभोक्तालाई सहज भयो”, प्रमुख प्रशासकीय अधिकृत सापकोटाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?