काठमाडौं । विश्वभर कोभिड–१९ को भाइरस सङ्क्रमणका कारण बन्दाबन्दी बेहोर्नु नपरेको भए उनलाई थप सात महिना बिना पारिश्रमिक विदेशमा बस्नुपर्ने थिएन । विदेशमा अलपत्र रहेका नेपालीको सूची बनाएर नेपाल फर्काउने सरकारको निर्णयले थाहा नगरपालिका–६ बज्रबाराहीकी ३१ वर्षीया श्रमिता महर्जनलाई ठूलो राहत मिल्यो ।
जसोतसो नेपाल फर्किएपछि उनलाई तेत्तिकै बस्न मन लागेन । आम्दानीको लागि केही त गर्नै पर्यो भन्ने लागेपछि अन्ततः उनले यात्रुबाहक अटो किनिन् र नगर क्षेत्रमा चलाउन थालिन् । अहिले त्यसैको आम्दानीले घरखर्च चलाउन सकेको उनको भनाइ छ ।
पहिलोपटक वैदेशिक रोजगारअन्तर्गत ओमनमा दुई वर्ष बसेपछि उनी नेपाल फर्कीएकी थिइन् । नेपाल फर्केपछि नगरमा इन्टरनेट सेवा प्रदायक संस्थामा काम गरिन् । तैपनि उनलाई विदेश मोहले भने छोडेको थिएन । ‘‘ओमनमा हुँदा प्रवेषज्ञाको म्याद नसकिँदै बिरामी भएँ, त्यसपछि जसोतसो म्याद गुजारेर नेपाल फर्किएँ’’, उनले भनिन् ।
नेपाल फर्किएपछि घरटोलमै पाएको रोजगारीबाट सन्तुष्ट हुन नसकेपछि उनी फेरि वैदेशिक रोजगारीको लागि कस्सिइन् र कुवेत पुगिन् । कुवेतमा पुग नपुग दुई वर्ष बस्दा उनी घर फर्किने तयारी गर्दै थिइन् । त्यहीबीच कोभिड–१९ को महामारी फैलियो । बन्दाबन्दी घोषणासँगै अन्तरराष्ट्रिय उडान बन्द भए र थप सात महिना कुवेतमै अड्किनु पर्यो । ‘‘सात महिनासम्म तलब नपाउँदा एकदमै समस्या भएको थियो, त्यसपछि घरबाट झण्डै रु एक लाख झिकाएर नेपाल फर्किएँ’’, महर्जनले सुनाइन् ।
महर्जनले अटो किनेर चलाउन थालेको धेरै दिन भएको छैन । केही दिनअघि मात्रै उनले अटो किनेकी थिइन् । अटो चलाउन थालेपछि अहिले उनको दैनिकी फेरिएको छ । बिहान उठ्ने वित्तिकै उनको अटो यात्रा शुरु हुन्छ । धेरैजसो थाहा नगरपालिकाको बज्रबाराही क्षेत्रमा चल्ने अटो यात्रुको मागअनुसार दामन, पालुङ, टिस्टुङ, चित्लाङ र इन्द्रसरोवरको मार्ख क्षेत्रसम्म पुग्नु पर्ने हुन्छ । ‘‘अटो किनेर ठीकै गरेछु भन्ने लागेको छ, खाली बस्नु परेको छैन,’’ उनले भन्छिन्, ‘‘अन्य खर्च कटाएर अटोबाट दैनिक सरदर रु एक हजार जोगिने गरेको छ ।’’
थाहा नगरपालिकामा अहिले करीब डेढ सय अटो सञ्चालनमा छन् । तीमध्ये हाल महिला चालक महर्जन मात्र छिन् । गत वर्ष थाहा नगरपालिका थाना बजारकी जमुना अधिकारीले पनि केही समय अटो चलाएकी थिइन् तर पछि छोडिन् । विदेशबाट फर्केर श्रीमानले अटो किनेर चलाउन थालेपछि श्रीमानलाई सघाउन उनले अटो चलाएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया