काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ ।
बैठक आज दिउँसो १ बजेका लागि पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको छ । मंसिर १३ गते बसेको सचिवालय बैठकले आज दिउँसो एक बजेका लागि बैठक तय गरेको थियो ।
सो बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिएका थिए भने पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालयको गत कात्तिक २८ गतेको बैठकमा प्रस्तुत प्रस्ताव र आरोपपत्र अस्वीकार गरी आफ्ना भनाइ राखेका थिए । गत मङ्सिर ३ गतेको सचिवालय बैठकले अध्यक्ष ओलीले माग गरेअनुसार लिखित जवाफ दिन उनलाई १० दिनको समय दिएको थियो ।
उक्त बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएका अभियोगको उचित जवाफ दिने जनाएका थिए । आरोपपत्रको आदानप्रदान तथा तिनको सार्वजनिकीकरणले पार्टी विभाजनमा जान सक्ने त होइन भन्ने प्रश्न उत्पन्न भएका बेला सचिवालय बैठक र प्रधानमन्त्रीको जवाफलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।
आजको बैठकमा दुबै अध्यक्षले बुझाएका प्रतिवेदनहरुका बारेमा छलफल हुने बताइएको छ ।
यस अघिको बैठकले मंसिर १८ गतेका लागि स्थायी कमिटी बैठक बोलाएको छ । यसअघि गत असार १० देखि भदौ २६ सम्म स्थायी कमिटीको बैठक बसेको थियो । त्यस्तै, अगामी २५ गते केन्द्रीय कमिटी बैठक पनि बस्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया